खगेन्द्र संगौला
ढिलै भए पनि क्षितिज उघि्रँदै गएको राजनीतिक डबलीमा यस घडीमा तीनवटा बिछट्टका अनुहार लाम लागेर खडा भएका छन् । समकालीन राजनीतिका तीनवटा अधोमुखी प्रवृत्तिका जण्ड प्रतिनिधि हुन् यी । यिनका नाम फरक छन् । यिनले बोकेका र जपेका विचार फरक छन् । तर यिनका चित्तको चुरो कुरो भने मिल्दोजुल्दो छ । यिनलाई हेर्दा उस्तै प्वाँख भएका चरा एकै झुन्डमा सामेल हुन्छन् भन्ने अंग्रेजी उखानको फ्याट्ट याद आउँछ । जेठ १४ मा जन्मिन लागेको संविधानले भयावह बाघझैँ ह्वाङ्ग मुख बाएर गर्जिँदै आक्रामक मुद्रामा यी त्रिमूर्तिमाथि झम्टा मार्ने छाँट छ । र यी हताश बबुराहरू कता भागुँ, कता लुकुँ गर्दै अत्यासको मुद्रामा आफ्ना सनातन विचारसँग ताल-सुर नमिल्ने हाँसउठ्दा कुरा गर्दै आफ्नो चिनारी आफैँ च्यात्दैछन् ।
यी चर्चित त्रिमूर्ति हुन्— सर्वश्री कमल थापा, केपी शर्मा ओली र चित्रबहादुर केसी । लाममा थापाकाजी अगाडि छन्, ओली महोदय माझमा र श्री केसी तिनका पछाडि । लाग्छ, थापाकाजी तीनमध्ये अघोषित अगुवाको भूमिका छन् । मिस्टर थापा निकै दिनदेखि इतिहासको झ्यासमा लोमडीझैँ कतै अलप भएका थिए । अलि दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा यिनी हठात् प्रकट भए । यिनले सदाझैँ आफ्नो मनचिन्ते झोलीमा मृत राजतन्त्रको प्रेतलाई बौराउने कुरूप सपना बोकेका थिए । काँचको पर्दामा जेठ १४ तिर पुलुक्क हेर्दै यी तर्सिए । यिनका निधारमा चिटचिट पसिना आए । नाकका पोरा फस्फस् फुले । र सास स्याँस्याँ बढ्यो । अनि यिनका कुरामा भयानक विचलन देखियो ।
थापाकाजीले अताल्लिँदै भने— राजासहितको प्रजातन्त्र चाहियो । अनि यिनले कन्दै व्याख्या गरे— यो पुरानो खालको होइन । यो गणतन्त्र पनि अटाउने, सङ्घीयता पनि अटाउने, पहिचान पनि अटाउने, जे पनि अटाउने राजासहितको प्रजातन्त्र हो । अर्थात् उदार, लचिलो र फराकिलो राजतन्त्रीय प्रजातन्त्र । सपनामा पनि नचिताएको थापावाणी सुनेर मैले जिब्रो टोकेँ । र जिल् पर्दै गम खाएँ— ए गाँठ्ठे ! बोल्ने मुख कसको हो ? बोलेको के हो ? बोलुवाले भन्न खोजेको के हो ? मेरा आँखा अगाडि थापाकाजीका दुई परम् पूज्य इष्टदेव ज्ञानेन्द्र शाह र पारस शाहका अनुहार नाचे । ती अनुहारमा यी काजीले भनेजस्तो उदारता र लचिलो एवं फराकिलोपना लेसमात्र पनि दृष्टिगोचर भएन । थापाकाजीलाई सिंहासनमा चाहिएका त आखिर तिनै पिता-पुत्र न हुन् । त्यसैले तिनको वास्तविक चरित्र र प्रवृत्तिको हेक्का राख्दै यिनले हाकाहाकी भन्नुपथ्र्यो— मलाई कठोर, क्रूर, लोभी र दम्भी राजासहितको प्रजातन्त्र चाहियो । तर भन्न सकेनन् । खोकिलामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बोकेर आइपुग्नै लागेको जेठ १४ को डरले यिनको जिब्रो लकपकायो । र यिनको सनातनी निष्ठामा भयानक विचलन आयो । कुन्नि, त्यस्तो ज्ञानी र दानी राजा यिनले जादुगरी तरिकाले कुनै गोबरग्यास प्लान्टबाट उत्पादन गर्ने विचार गरेका पो छन् कि !
विचलित कमल थापापछि टेलिभिजनको अर्को पर्दामा उदाए डाक्टर केपी शर्मा ओली । तिनका भयातुर आँखा पनि कालरूपी जेठ १४ तिरै एकोहोरिएका थिए । मानौँ बन्नै नहुने संविधान बन्ने भयो भनेर तिनको मनमा उग्र बेचैनीको चक्रवात् उठेको थियो । गलित थापाझैँ थकित मनोदशामा थिए, बरा श्री ओली महोदय । तिनले भने— जेठ १४ मा संविधान बन्छ, यो बन्नैपर्छ । सुनेर म फेरि जिल् परेँ । अरे ! बोल्ने मुख कसको हो ? बोलेको के हो ? नवोदित डाक्टर ओलीका मुखारविन्दबाट यत्रो अकल्पनीय विचलन कसरी हुनगएको हो ? ‘जेठ १४ मा संविधान बन्दैन ।’ हिजोसम्म श्री ओलीको थेगोतुल्य महावाणी थियो यो । तिनले हामीलाई एक होइन, दुई होइन, पाँच होइन, पच्चीसौँपटक यो महावाणी कृपा गरेका थिए । जगत्लाई थाहा छ— संविधानसभाको आफूलाई धूलो चटाउने चुनावप्रति ओलीको चित्तमा अथाह घृणा छ । चुनिएर आएका थुप्रै ‘अनपढ’, ‘अज्ञानी’, ‘बेढङ्गे’ र ‘सिंगाने’हरूप्रति तिनको मथिङ्गलमा अपार तिरष्कार छ । थाहा छ, सङ्घीयताको सम्झनामात्र भयो कि तिनको कन्पारो तातेर आउँछ । सङ्घीयतामा हक खोज्ने मधेसीहरू तिनका दृष्टिमा ‘पूर्व भारतीयहरू’ हुन् । पहिचानको चाहना गर्ने जनजातिहरू तिनका नजरमा जातिवादी हुन् । त्यसैले त सङ्घीयताको खाका खिच्न बनेको संविधानसभाको मृत्यु तिनको एकमात्र सपना, जपना र कामना हुनगयो ।
अनि अहिले ? अहिले चतुर ओली साहेबले भेउ पाए— साला ! संविधान त बन्ने भो । र बडो नाटकीय रूपले एकाएक तिनको भाका फेरियो— संविधान बन्छ, बन्नैपर्छ । अहो ! डाक्टर ओलीको फेरिएको बोलीमा यो क्या डरलाग्दो विचलन ! कुरा हिजैसम्मको त हो, शान्तिको बाटोमा तुवाँलो लाग्दा डाक्टर ओलीसाहेब हलक्कै हौसिन्थे । संविधान लेखन धरापमा पर्दा श्री ओली मखलेल हुन्थे । ओली सरलाई थाहा थियो— संविधान एक्लै आउँदैन, चुनावको तरवार बोकेर आउँछ । पहिले चुनावी तरवार बजि्रँदाको घाउ उनको गर्धनमा अझै आलै छ । त्यसको दुखाइ, त्यसले ल्याएको पराजयको पीडा, त्यसबाट उत्पन्न ग्लानि, त्यसले जगाएको औडाहा— त्यो सब एकरत्ति मत्थर भएकै छैन । अब फेरि अर्को त्यस्तै पिराहा चुनाव ?
प्रस्ट कुरा गरुँ । शान्ति र संविधानको बाटोमा तेजाब खन्याउन डाक्टर ओलीले गर्नु-नगर्नु यत्न गरेकै हुन् । सबुतहरू इतिहासका भित्तामा अङ्कति छन् । यिनले शान्ति विरुद्ध अनेक सपना कोरले, यिनका अनेक सपना तुहिए । संविधान विरुद्ध यिनले थुप्रै प्रपञ्च रचे, यिनका थुप्रै प्रपञ्च गोपीक्याँच भए । एक समय थियो, जब डाक्टर ओलीहरूका भुइँमा खुट्टा थिएनन् । शान्तिको चित्र खल्बलिन लाग्दा यिनलाई सत्ताको कुर्सी आफूतिर आउन लागेको आभाष हुन्थ्यो । संविधान लेखन अनिश्चयको कुहिरोमा बरालिँदा यिनलाई आफ्नो नितम्बले सत्ताको आसन स्पर्श गरेको रोमाञ्चक अनुभूति हुन्थ्यो । र उस्तै स्वार्थ, चरित्र र प्रवृत्ति भएका पात्रहरूको मितेरी गाँठो कसिँदा स्वैरकल्पनाको भित्तोमा ट्याक्क सरकारको चित्र खिचिन्थ्यो । चित्रमा डाक्टर केपी शर्मा ओली प्रधानमन्त्री हुन्थे, जर्साप् रुक्माङ्गद कटवाल रक्षामन्त्री र श्री खुमबहादुर खड्का गृहमन्त्री । स्वैरकल्पनाकै प्रधानमन्त्री सही, क्या थिए ती दिन ! दुर्भाग्यवश, मनको लड्डु घिउसित खान पाइने ती दिन टिकेनन् । नलिनुपर्ने शान्तिले गति लियो र संविधान नाउँको मृत्युपत्र अन्ततः लेखिने नै भयो । र घोर पराजयको मुद्रामा डाक्टर ओलीआफ्ना सपना, जपना र कामना विरुद्ध बोल्न विवश भए— संविधान बन्छ, बन्नैपर्छ ! ओली महोदयको सनातनी निष्ठामा यो क्या भयङ्कर विचलन !
जसको जेमा लगानी हुँदैन, उसलाई त्यसको माया हुँदैन । गणतन्त्रमा श्री केपीको प्रतिबद्धता, लगन र त्यागको लगानी छैन । छ भने बरु त्यसको उल्टो छ । सङ्घीयतामा डाक्टसाप्को सकारात्मक योगदान छैन । छ भने बरु त्यसको उल्टो छ । डाक्टसाप् झापा विद्रोहको लगानी साँवासहित हजम गर्दै आजका दिनसम्म जेनतेन निर्वाह चलाइरहेका छन् । अब संविधान बनेपछि ? भो, विचलित र व्यथित ओली महोदायका भावी दुर्दिनका कुरा नगरुँ !
आयो कुरा अब लामका तृतीय पुरुष श्री चित्रबहादुर केसीको । श्री केसी मसाल पार्टीको सङ्घीयता विरोधी कुटिर उद्योगका अथक फिल्ड मार्शल हुन् । दलित र उत्पीडितहरूले सङ्घीयतामा आफ्नो भाग्य अजमाउने सपना देखे । श्री केसीका नजरमा त्यो सपनामा देश टुक्रिएको देखियो । मधेसीहरूले सङ्घीयतामा समानता र गरिमा पाउने चाहना गरे । श्री केसीका दृष्टिमा त्यो चाहनामा देश भत्किएको देखियो । जनजाति जनहरूले सङ्घीयतामा पहिचान र पहुँचको मौलो गाड्ने इच्छा गरे । श्री केसीका चित्तमा त्यो इच्छामा जातीय सद्भावमा आगो सल्केको देखियो । र यी केसीले, उनकै शब्दमा, सङ्घीयता विरोधी जेहाद छेडे । नाम छ विपन्न, अशक्त, वञ्चित र परित्यक्तहरूको मुक्तिका लागि जुध्ने कम्निस्ट पार्टी मसाल । काम छ, थापाकाजी कमल र डाक्टर केपीहरूको जस्तै जनआकांक्षाका जरामा जहर खन्याउने अविराम अभियान । कमल, केपी र चित्र ‘महेन्द्र माला’ पढेर वा पढाएर अहंकारवादी राष्ट्रियतामा दीक्षित भएका सगोत्री त्रिमूर्ति हुन् । जप्ने सिद्धान्त जेसुकै होस्, यिनका चित्तका भित्तामा संकीर्ण शाही राष्ट्रवादको भूत किर्नोझैँ टाँसिएको छ । त्यसैले त यिनलाई कठोर एवं केन्द्रीकृत हैकम मनपर्छ । त्यसैले त यिनलाई सकल लोकलाई माग्ने ठाउँमा राखेर आफू दिने ठाउँमा विराजमान भइरहन मनपर्छ । त्यसैले त हकका लागि उठ्ने जनआवाजमा यिनका नजरमा देश विखण्डित हुन्छ ।
अस्तिताक श्री केसीले भने— म बाँच्ने अब दस दिनमात्र बाँकी रहे । बुझ्न खोज्दा थाहा भयो, उनको ज्यान लिन धम्की दिने आततायीले भाका किटेको रहेछ । उनको कसुर रहेछ, सङ्घीयता विरुद्ध जथाभावी बोल्दै हिँड्नु । श्री केसीले गुनासो गरे— मेरो ज्यान लिन्छु भन्नेलाई सरकारले पक्राउ गरेन । केसी सरको बोलीमा लोली मिलाउँदै म भन्छु— पक्राउ गर्नुपर्छ । केसीका मुखबाट प्रवाहित हुने ग्रामीण नेपाली भाषाको स्वाद चाख्नकै लागि भए पनि श्री केसीको ज्यान जोगाइनुपर्छ । सके सरकारले जोगाउला, नसके मुन्टो लुकाउनलाई केसी महोदयको अर्धभूमिगत पार्टी मसालको गोप्य खोपी हुँदै होला ।
सङ्घीयताको वध गर्न आतुर श्री चित्रबहादुर केसी ‘राष्ट्रवादी’ मोर्चाका विरलाकोटी वीर हुन् । वीर निडर हुन्छ । आफ्नो आस्थाका लागि जीवन आहुती दिनु वीरका लागि केही होइन । तर सहपथिक कमल र केपीमा झैँ यस पाटोमा श्री केसीमा पनि विचलन देखियो । मलाई मार्ने धम्की आयो भनेर उनी सरकारसामु रुन पुगे । यो सरकार सङ्घीयताको पक्षधर हो । तसर्थ यो ‘विखण्डन’को पक्षधर हो । यो सरकार पहिचानको पक्षधर हो । तसर्थ यो ‘सामाजिक सद्भावको विनाश’को पक्षधर हो । ‘राष्ट्रवादी’ वीर यस्तो नाथे सरकारसामु जीवनको भीख माग्दै तुरुक्क रोयो । श्री केसीको यो कत्रो विचलन !
सीके लालले भनेझैँ ‘ऊँटजस्तो’ नै सही जेठ १४ गते संविधान आउने पक्का छ । त्यो ‘ऊँट’को आगमनसँगै विचलनमार्गी यी त्रिमूर्तिका कुटिर उद्योगहरू नाश हुनेछन् । ठीकै छ, ती नाश होउन् । जेको नियति नै नाशिनु हो, त्यसको विनाशमा लोकलाई केको पछुतो !
कान्तिपुरबाट