
आदिवासी जनजाति तथा मधेशी नेताहरुले पहिचान विनाको संविधान ल्याए त्यसलाई जलाउने बताएका छन् । आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले वैशाख १४ गते काठमाडौंको बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन ।
कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचान र सामथ्र्यसहित आत्मनिर्णयको अधिकारसम्पन्न स्वायत्त प्रदेश बाहेक कुनै पनि प्रकारको राज्य आफूहरुलाई मान्य नहुने बताए । संविधानसभाभन्दा बाहिर गएर संविधान जारी गर्ने षडयन्त्रमा ठूला पार्टीका नेताहरु लागिरहेको चर्चा गर्दै सम्पूर्ण जनजाति मधेस र दलित वर्गका सभासद् आफ्नो अधिकार सुनिश्चित गर्न एक हुनुपर्नेमा उनको जोड थियो ।
नेपाली काँग्रेस नेता तथा सभासद इन्द्रबहादुर गुरुङले पहिचानसहित सङ्घीय संविधान जारी नगरिए संविधानसभामा सहभागी जनजाति सभासद् दलित र मधेसवादी सभासद्ले हस्ताक्षर नगर्ने र सोही दिन संविधान बहिष्कार गरिने बताए ।
नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखी थारुले संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित नभए त्यस्तो संजिधान चलाउने बताए । यसैगरी नेवाः स्वायत्त राज्य मङ्का सङ्घर्ष समितिका सचिवालय संयोजक मल्ल के सुन्दरले अन्तरिम संविधान तयार गर्दा पहिचानका आधारमा सङ्घीय राज्य बनाइनेछ भनेर २५ दलका ४३ सभासद्ले हस्ताक्षर गरेको उल्लेख गरे ।
कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, एनेकपा माओवादीका सभासद् सुरेश आले मगर, सोनी लामा, गोविन्द चौधरी, पासाङ सेर्पा, परशुराम तामाङलगायतले पहिचान सहितको संघीयता नभए संविधान चलाउने उदघोष गरे ।
