
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानको पहिलो मस्यौदा २०६९ वैशाख १५ गते भित्र आउने भएको छ । सिँहदरबारमा चैत २३ गते बसेको कार्य व्यवस्था समितिको बैठकले आगामी वैशाख १५ गतेभित्र संविधानको पहिलो मस्यौदा ल्याउने निर्णय गरेको हो ।
बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी वैशाख १५ गतेभित्र संविधानको पहिलो मस्यौदा ल्याउनेगरी काम भईरहेको बताए । चैत मसान्तदेखि वैशाख ५ गतेसम्म संविधान निर्माणको विषयमा छलफल अगाडि बढाउने र सहमति जुट्न नसकेका विषय मतदानबाट टुंग्याइने दाहालले जानकारी दिए ।
बैठकमा ठूला राजनीतिक दलले समयमै काम गर्न नसकेको भन्दै आत्मआलोचना गरेको र आगामी जेठ १४ गते जसरी भए पनि संविधान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद चन्द्रबहादुर गुरुङले बताए ।
संविधान निर्माणका आधारभूत कामहरु सकिइसकेको भएपनि संविधान विरोधी र नेपाली जनताको अधिकार विरोधीहरुले संविधानमा धेरै विषय मिल्न नसकेको हल्ला फिजाईरहेका छन् ।
