विभिन्न दलका सभासद तथा कानुन व्यवसायीहरुले संघीयता विनाको संविधानको कुनै अर्थ नहुने बताएकाछन् । नेपाल जेसिजले चैत २२ गते आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन ।
सभासद अमृता थापामगरले संविधानमा संघीयता अनिवार्य हुने धारणा राखिन् । उनले संविधानसभा आफँैमा सार्वभौम भएकाले संघीयताको विषयमा निर्णय पनि संविधानसभाले नै गर्ने बताईन ।
कार्यक्रममा मधेसी जनअधिकार फोरमका सभासद् जयराम यादवले पहिचानसहितको सङ्घीयताको विकल्प नभएको बताए । नेपाली काँग्रेसका सभासद् शोभाकर पराजुलीले सङ्घीयताको विषयमा फरक मत रहे पनि नेपाली काँग्रेस सङ्घीयता हुनै नहुने भन्ने अडानमा नरहेको जिकिर गरे । एमाले सभासद रवीन्द्र अधिकारीले जेठ १४ भित्र संविधान नबने त्यसको जिम्मेवारी आफूले पनि लिने बताए ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले नेपाल संविधानतः संघीयतामा गईसकेकाले त्यसबाटपछि फर्कन नसक्ने उल्लेख गरे ।
