प्रमुख तीन दल कीकृत नेकपा माओवादी नेपाली कांग्रेस नेकपा एमाले लगायत दलका नेता तथा सभासद्हरुले लिम्बुवान राज्य सुनिश्चितताका लागि संघर्ष समितिको घोषणा गरेका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य विजय सुब्बाको संयोजकत्वमा ललितपूरमा चैत १८ गते संघीयता कार्यान्वयन लिम्बूवान संघर्ष समितिको घोषणा भएको हो । समितिको सह-संयोजकमा माओवादी नेता धर्मचन्द्र लावती, सचिवमा संघीय लोकतान्त्रिक राष्ट्रिय मचका महासचिव खगेन्द्र माखिम, नेपाली कांग्रेसका प्रविण नेम्बाङ र स्वतन्त्र लिम्बु बुद्धिजिवी नन्द कन्दङवा रहेका छन् ।
लिम्बुवान पक्षधर आदिवासी संघसंस्थाका प्रधिनिधि समेत समेटेको समितिमा लिम्बू लेप्चा आठपहरिया धिमाल शेर्पा र कुमाल नेतालाई पनि राखिने संयोजक विजय सुब्बाले जानकारी दिनुभयो । समितिले लिम्बुवान प्राप्तिका लागि राज्यको ध्यानाकर्षण गर्नुकासाथै शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । कार्यक्रममा प्राध्यापक बालकृष्ण माबोहाङले समितिको प्रस्तावित अवधारणा पत्र पेश गरेका थिए ।
एस. लिम्बु
