राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी राज्य परिषदको संघीयताका कथित विरोधहरुको विरुद्धमा सन्चालित भण्डारफोर तथा खबरदारी २०६८ शुरु भएको छ । शान्ति र संविधानका लागि दवाव दिने उद्देश्यले चैत १५ गतेबाट अभियान शुरु गरिएको परिषदका सदस्य तिलबहादुर झेंडी मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । उनका अनुसार भण्डाफोर कार्यक्रम रुपन्देहीमा १७ गते र नवलपरासीमा २० गते हुने भएको छ ।
कपिलवस्तुको तौलिहवाबाट प्रारम्भ भएको विरोध कार्यक्रममा संघीय परिषद सदस्य रामु परियारले विशेष सम्बोधन गरेका थिए । जातीय जनसंख्याको आधारमा समानुपातीक प्रतिनिधित्व र संघीयता विना मुलुकले निकाश पाउन नसक्ने परियारको भनाई छ ।
शान्ति र संविधानमा ध्यान केन्द्रित गर्नुपर्नेमा नेता परियारको जोड थियो । कार्यक्रममा जनमुक्ति पार्टीका संघीय परिषद सदस्यहरु दलबहादुर वीरकट्टा, डा. हाजी मोहमद हसन, भीमबहादुर राना लगायतले जनमुक्तिले मात्रै देशको हित गर्न सक्ने धारणा राखेका थिए ।
लुम्बिनी राज्य परिषदका अध्यक्ष नरेन्द्र थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव तिलबहादुर झेंडी मगरले गरेका थिए ।
