एनेकपा माओवादी सभासद इन्द्रजीत थारुले राज्यपुर्नसंरचना गर्दा थारु जाति र अन्य आदिवासी जनजातिको विपक्षमा मत दिनुपरे दलीय ह्विप तोड्ने बताएका छन् । राजधानीमा चैत ३ गते आयोजित थारुहरुको पहिचान सहित राज्यपुर्नसंरचना स्वायत्तता र आत्मनिर्णयको अधिकार विषयम अन्तरकि्रया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन ।
थारुको विरोधमा लाग्नु भनेकै आफ्नै टाउकोमा टेक्नु सरह भएको भन्दै उनले समुदायगत अधिकारको पक्षमा लाग्ने बचनवद्धता जाहेर गरेका हुन । थारु कल्याण कार्यरिणी सभाले आयोजना गरेको कार्यक्रममा विभिन्न दल तथा संघसंस्थामा आवद्ध थारु नेताहरुले राज्यपुर्नसंरचना गर्दा थारु समुदायको अधिकार प्रत्याभूत गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा मन्तब्य राख्नेहरुमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारु, सभासदहरु मानबहादुर महतो, संघप्रसाद थारु सन्तोष थारु र पूर्वसाँसद पार्वती चौधरी रहेका छन् । यसैगरी संघीय लोकतान्त्रिक मन्च थरुहटका उपाध्यक्ष श्रवण थारु, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष उपेन्द्र गच्छदार, थारु पत्रकार संघका महासचिव कृष्णराज सर्वहारी, थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य विजय विश्वास, थारु महिला सभाकी अध्यक्ष रेणु चौधरी, चलचित्रकर्मी परशुराम चौधरी लेखक घनश्याम थारु लगायतले थारु समुदायको अधिकार ग्यारेन्टी नभएको संविधान कुनै हालत स्विकार्य नहुने बताए ।
