
तीन निर्दोष नेपालीको ज्यान लिने गरी काठमाण्डौं बबरमहलस्थित आयल निगमको कार्यालय बाहिर बम बिष्फोट गरेकाहरुले आफूहरुलाई प्रहरीले फसाएको आरोप लगाएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा प्रहरीले सार्वजनिक गर्ने क्रममा उनीहरुले आफूहरुलाई फसाइएको बताएका हुन् । ‘हामी संयुक्त जातीय मुक्ती मोर्चाका कार्यकर्ता हौं’ पत्रकारहरुले फोटो खिच्ने क्रममा उनीहरुले भने ‘तामाङ्ग भएकैले हामीलाई प्रहरीले फसाएको हो ।’
उनीहरुले बम बिष्फोटको घटनामा आफ्नो कुनै संलग्नता नभएको पनि जिकिर गरे । तर प्रहरीले बम बिष्फोटमा प्रयोग भएका सामग्री सहित उनीहरुलाई पक्रेको जनाएको छ । काठमाण्डौंका विभिन्न ठाउँबाट पक्राउ गरी प्रहरीले आईतबार बेलुकी पत्रकार सम्मेलन गरेर बम बिष्फोटमा संलग्न ६ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेकामा संयुक्त जातीय मुक्ती मोर्चाका भीम बहादुर तामाङ निमा दोर्जे तामाङ बुद्धि बहादुर गोले प्रेम तामाङ पि्रतम सुरेश लामा र सागर लामा रमेश छन् ।
तर बम बिष्फोटका मुख्य योजनाकार देवराज लामा उर्फ विश्वक्रान्ति भने अझै फरार छन् । पक्राउ परेकाहरुलाई कर्तव्य ज्यान र बिष्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा चलाउने पनि उहाँले जानकारी दिनुभयो । अपरेशन निगम नाम दिएर घटनाको अनुसन्धान गरेको प्रहरीले आतंक मच्चाएर रकम असुल्ने उद्देश्यले संयुक्त जातीय मुक्ती मोर्चाले बम बिष्फोट गरेको ठहर गरेको छ । आयल निगमको कार्यालय बाहिर पछि पनि उनीहरु थप बिष्फोटको तयारीमा रहेको अनुसन्धानमा देखिएको अर्यालले बताए ।
एस लिम्बु (तस्विर पनि)
