
नेपालगंजमा प्रथम अन्तर्राष्ट्रिय थारु आदिवासी युवा सम्मेलन शुरु भएको छ । थारु अराउण्ड द वल्र्डद्वाराआयोजित सम्मेलनको फागुन १८ गते उपप्रधानमन्त्री विजयकुमार गच्छदारले उदघाटन गरेका हुन । आयोजक संस्थाका अध्यक्ष महावीर चौधरीको सभापतित्वमा भएको सम्मेलन उद्घाटन समारोहमा थारु अगुवाहरु बीरबल चौधरी, सुरेन्द्र चौधरी र बाँकेका प्रजिअ ढुण्डीराज पोखरेलले पनि मन्तव्य राखेका थिए ।
तस्विर:- कृष्णराज सर्वहारी
सम्मेलनमा नेपाललगायत अमेरिका, डेनमार्क, कतार, मलेसिया, फिलिपिन्स, भारत र युरोपेली राष्ट्रबाट आएका १५० भन्दा बढी थारु अगुवाहरुको सहभागिता रहेको थारु अध्ययनकर्ता तथा सन्चारकर्मी कृष्णराज सर्वहारीले जानकारी दिएका छन् । तीन दिनसम्म चल्ने सम्मेलनमा प्राध्यापकद्वय डा कृष्ण हाछेथु कृष्ण खनाल निरु श्रेष्ठ सुशील चौधरी र सरोज चौधरीले थारु समुदायको शिक्षा संस्कृति र आर्थिक पक्ष तथा संविधानसभा र राज्यको पुनस्रंरचनाका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा गृहमन्त्री गच्छदारले कृष्ण सर्वहारीद्वारा लिखित हास्य पुस्तक ‘ढोँढोँ पोपो’ को विमोचन गरेका थिए । कार्यक्रममा थारु समुदायको परम्परागत संस्कृति झल्कने नृत्यहरु प्रदर्शन गरिएका थिए ।
