निर्वाचन आयोगबाट कुमार लिङ्देन पक्षलाई आधिकारिकता

Read Time:4 Minute, 11 Second

निर्वाचन आयोगले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा उत्पन्न विवादलाई निरुपण गर्न सम्पन्न गरेको मतदानमा बहुमत संघीय सदस्यहरूको मत प्राप्त गरेको आधारमा २०६८ माघ ११ गते कुमार लिङ्देन ‘मिराक’ अध्यक्ष रहेको पक्षलाई मञ्चको आधिकारिकता प्रदान गरेको छ । आधिकारिक मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा  माघ ११ मा जारी प्रेस विज्ञप्ति अनुसार सम्मानित निर्वाचन आयोगबाट सम्पूर्ण प्रक्रिया पूरा भई लिङ्देन पक्षलाई मञ्चको आधिकारिकता प्रदान भएबाट पुनः संघीय गणतन्त्रात्मक धर्मनिरपेक्षतावादी लिम्बुवान, खम्बुवान, तामाङसालीङ, तमुवान, मगरात, मैथिल, नेवाः, थारुवान, खसानवादी संविधानको सभाको चुनावमा भाग लिएका पक्षधरहरूको विजय भएको छ । यो विजयले नेपालको संघीय गणतान्त्रिक आन्दोलनलाई थप उचाइमा लैजानेछ ।

विज्ञप्तिमा थप भनिएको छ- ”मञ्चलाई कब्जा गर्न केही स्वार्थी, अति महत्वाकाङ्क्षी तत्वहरूले खेलेको षडयन्त्रको विरुद्धमा दृढ अठोटका साथ लागिपर्ने सम्पूर्ण सचिवालय सदस्य तथा संघीय सदस्यहरू, राज्य परिषदहरू, हजारौं नेता, कार्यकर्ता एवम् शुभेच्छुक महानुभावहरूलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।”

सोही विज्ञप्तिमा अब तत्कालै मुलकभरका सम्पूर्ण संघीय गणतन्त्रवादीहरूलाई गोलवद्ध गर्ने कार्यक्रम संघीय मञ्चले ल्याउने समेत जनाइएको छ ।

साथै, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको अध्यक्ष समेत रहेका कुमार लिङ्देन ‘मिराक’ अध्यक्ष रहेको पक्षले मञ्चको आधिकारिकता प्राप्त गरेकोमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद गौरवान्वित भएको जनाउँदै वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङबाटसमेत एक विज्ञप्ति जाहेर गरिएको छ ।

सोही विज्ञप्तिमा जनाए अनुसार आफ्नो व्यक्तिगत महत्वाकाङ्क्षा लाद्न जबरजस्ती विवाद सिर्जना गरी मिति २०६८ कात्तिक १६ गते पार्टीले आधिकारिकताको लागि निर्वाचन आयोगमा निवेदन पेश गर्न प्रमुख भूमिका खेलेको, २०६८।१०।११ गते भएको मतदानमा मञ्च र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद (स.लि.रा.प.) को पक्षमा मतदान नगरेको, मञ्च र मञ्चसम्बद्ध स. लि. रा. प. लाई ध्वस्त गर्न षडयन्त्र गरेको कारणले तत्कालीन परिषदका महासचिव सूर्य माखिम र संघीय प्रतिनिधि सदस्य विष्णु तुम्बाहाम्फे राईलाई सोही मितिबाट मञ्च सम्बद्ध स. लि. रा. प. को साधारण सदस्यसमेतबाट निष्काशन गरिएको छ ।

यसै विज्ञप्तिमार्फ् मञ्च सम्बद्ध स. लि. रा. प. का सम्पूर्ण नेता तथा कार्यकर्ता र तमाम् संघीय गणतन्त्रवादी लिम्बुवानी जनताहरूलाई कुनै भ्रममा नपरी आफ्नो घोषित लक्ष्यहरूमा निर्धक्कताका साथ निरन्तर अघि बढिरहन समेत आह्वान गरिएको छ ।

– डीबी आङ्बुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %