दशनामी सन्यासी जातिले आफूलाई सीमान्तकृत तथा अल्पसङ्ख्यक जातिको सूचीमा सूचीकृत गर्न माग गरेका छन् । दशनामी समाज एकीकरण समन्वय समितिले माघ १० गते पत्रकारसम्मेलनको आयोजना गरी कुल जनसङ्ख्याको ०।८८ प्रतिशतको सङ्ख्यामा रहेका दशनामीको तथ्याङ्क स्पष्ट तथा छुट्टै शीर्षकमा तयार पारिनुपर्ने मागसमेत गरे ।
दलित, आदिवासी जनजाति, मुस्लिम समुदायले जातीय अधिकार माग गरेको देखेर आफूहरुलाई पनि अधिकार चाहिएकाले कार्यक्रम गर्नु परेको आयोजकको भनाई छ । सम्मेलनमा राज्यले सो जातिको जातीय पहिचान र राजनीतिक सामाजिक आर्थिक रुपान्तरणका लागि नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने उनीहरुले संरक्षण गर्दै आएका ऐतिहासिक र पुरातात्विक महत्वका मठमन्दिर गुफा देवालय आदिको संरक्षण विकास तथा सम्भारका लागि यथोचित ध्यान दिनुपर्ने राज्यको पुनस्रंरचना गर्दा दशनामी सन्यासीको सङ्ख्या धेरै भएको सुनकोसी राज्यलाई दशनामी सन्यासी स्व्ाायत्त राज्य घोषणा गरिनुपर्ने माग गरियो ।
समितिका संयोजक विदुर भारतीले दशनामी सन्यासीका गुरु शङ्कराचार्य जयन्तीका दिन सार्वजनिक बिदा दिइनुपर्ने तथा उनीहरुले समाधिस्थलका रुपमा प्रयोग गर्दै आएका खोलानाला तथा नदीको संरक्षण हुनुपर्ने बताए । सरकारले सेना प्रहरी निजामती कर्मचारीलगायत राज्यका सम्पूर्ण प्रशासनिक निकायमा दशनामी सन्यासीको स्थान सुनिश्चित गरिनुपर्नेसमेत संयोजक भारतीले उल्लेख गरे ।
