माघ ११ गते राँके जुलुश र १८ गतेबाट लिम्बुवान रोडमार्च हुने

Read Time:3 Minute, 45 Second

”लिम्बुवान स्वायत्त राज्य- घोषणा गर, ०६४ फागुन १८ को पाँचबुँदे सहमति- लागू गर, संघीयता र लिम्बुवान विरोधी कार्यहरू बन्द गर, तोकिएकै समयमा संघीय संविधान- जारी गर र एकात्मकवादीहरू- होसियार !” भन्दै २०६८ माघ १० गते विराटनगर मावारोङ, लिम्बुवानमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय कार्य समितिले थप शान्तिपूर्ण सशक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । पत्रकार महासंघको कार्यालय, विराटनगरमा एक पत्रकार सम्मेलन गरी जारी गरिएको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सचिवालय सदस्य प्रेमदिप थाम्सुहाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेखित आन्दोलनका कार्यक्रमहरुमा पहिलो कार्यक्रम यही २०६८ माघ ११ गते सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवानभर राँके जुलुश प्रदर्शन गर्ने रहेको छ ।

त्यसैगरी, लिम्बुवानले सर्वजनिक गरको दोस्रो कार्यक्रममा माघ १८ गते जोगवनी रानी भन्सारदेखि विराटनगर, दुहवी, इटहरीहुँदै ऐतिहासिक लिम्बुवानको राजधानी विजयपुर धरान, सुनसरीसम्म मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’को नेतृत्वमा हजारौं नेता तथा कार्यकर्ताहरू सहित शान्तिपूर्ण पैदल लिम्बुवान रोड मार्च गर्ने रहेको छ ।

साथै, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले मङ्सिर १० गते विराटनगरमा लाखौं जनताको उपस्थितिमा विशाल लिम्बुवान आमसभा सफल गरेको भन्दै उक्त आमसभा सफल बनाउन सहयोग गर्नुहुने बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, उद्योगी, व्यापारी/व्यवशायी, कर्मचारी, पत्रकार, प्रशासन र विराटनगरवासी लिम्बुवानप्रेमी जनसमुदायहरूलाई मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय कार्य समिति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय समितिले विराटनगरमा आयोजना गरेको विशाल लिम्बुवान आमसभामा करिब ३५० वटा सवारी साधनहरू परिचालित भएको तथा विभिन्न शीर्षकमा करिब पच्चीस लाख खर्च भएको खर्च विवरण पनि सार्वजनिक गरेको छ । उक्त खर्च भएको रकम अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलनलाई माया गर्नुहुने उद्योगी, व्यवसायी, बुद्धिजीवी,परिषद्कै विदेश सम्पर्क समिति र विभिन्न संघ/संस्थाहरूबाट स्वैच्छिक रुपमा प्राप्त भएको जनाएको छ ।

–          डीबी आङ्बुङ लिम्बू /विराटनगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %