
उपप्रधानमन्त्री तथा गृह मन्त्री विजयकुमार गच्छदारले थारुको छोरो प्रधानमन्त्री भएमात्र आफू सन्तुष्ट हुने बताएका छन् । माघीको अवसरमा थारु समुदायले माघ १ गते राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन ।
फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले सम्पूर्ण जातजातिलाई समान हक र अधिकार दिने गरी देशमा समावेशी संविधान बनाउनु पर्नेमा जोड दिए । सदियौंदेखि थिचिएर बसेको थारु समुदायले समावेशी संविधान निर्माणपछि मात्रै हक र अधिकार पाउने उनको भनाई थियो ।
कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्री दानबहादुर चौधरीले मेचीदेखि महाकालीसम्म थारुहरुको बासोवास रहेपनि उनीहरु अझै शोषित र पीडित अवस्थामा रहेको बताए । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारु कल्याणकारी सभाका केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरी लगायतले थारु समुदायको मुक्ति विना नभई देश समृद्ध बन्न नसक्ने धारणा राखे । कार्यक्रमको सभापतित्व थारु माघी महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले गरेका थिए ।
