मगर समुदाय चाड पर्व भाषा र संस्कृतिमा धनी भनी नेपाल अधिराज्यभरी कहलाए पनि राज्यले यस्तो कुराहरुलाई खासै मान्यता दिएको थिएन ती सवै कुराहरु मगर समुदाय भित्र मात्रै रहेको थियो । तर नेपालको गणतान्त्रिक सरकारले गरेको निर्णय अनुसार मगरहरु र थारुहरुको महान चाड माघे सक्रान्ति भनी उक्त दिनलाई राष्ट्रिय चाडको रुपमा सार्वजनिक बिदा दिने घोषणा गरेको खवर ८ जनवरी २०१० का प्रकाशित खबरले सम्पूर्ण मगरहरुलाई हर्षित बनायो । यो घोषणालाई मगर समुदायले स्वागत गर्नै पर्छ । मगर समुदायलाई अहिलेसम्म राज्यले जुन उपेक्षा गरेको थियो र मगर समुदायले जुन संघर्ष गरीरहेको छ यो घोषणाले एउटा सानो अंश भने पनि सफल भएको मान्नु पर्छ ।
भीम थापा बरही मगर
हरेक चाडपर्व अनुसारको संस्कृति पनि मगर समुदायमा रहेको छ जस्तो हिन्दुहरुको महान चाड भनिने दशैंलाई मगरहरुले आफ्नै तरीकाले मानेको पाइन्छ भने बौद्ध धर्मावलम्विहरुले त दशैमा देशभरी लाखौं पशुहरुको बली दिइने भएको हुनाले जति पनि बलि दिइएको पशुहरुले काट मारवाट भोग्नु परेको दुख र बेदनावाट मोक्ष प्राप्त गरुन् भनी गुम्वाहरुमा ठूलो पूजापाठ गरिन्छ । तिहार त झन मगर समुदायको हो भनी विभिन्न समाजशास्त्री र इतिहासकारहरुले पनि भनी सक्नु भएको छ । यस्तै चाडपर्वहरु मध्ये धुमधामसँग मगर समुदायले मनाउने महान चाड माघेसक्रान्ति पनि एउटा हो । यो चाड मान्नुको मगर समुदायमा आ७३टज्ञद्धद्धण्सनै विशेषता रहेको छ । माघे सक्रान्तिलाई अन्य समुदायले पनि मानेको पाइन्छ तर जुन तरीकाले मगर समुदायले मनाउने गरेको छ अन्य समुदायमा त्यस्तो चलन र विशेषता पाइदैन् । विशेष गरेर माघे सक्रान्तिमा टाढा टाढाको नातागोता र कटुम्वहरुलाई निम्तो गरी बोलाउने चलन छ र विदेशमा रहने विदेशीहरुले पनि दशै र तिहारलाई भन्दा माघेसक्रान्तिलाई नै बढि महत्व दिई घरमा आउने चलन छ र घरवाट पनि जसरी भए पनि माघे सक्रान्तिमा घर आउनु भन्ने गरिन्छ ।
यसको खास कारण भनेको पितृ मान्ने पर्वको रुपमा मनाइने भएर हो । त्यसैले यसलाई पितृ पर्व पनि भन्ने गरीन्छ । मगरहरुको हरेक शुभ वा अशुभ जे कार्य गर्दा पनि छोरी ज्वाईचेला र भान्जा भान्जी चाहिन्छ त्यसैले विशेष निम्तो गर्ने गरीन्छ यस दिन ज्वाई चेलालाई दान दक्षिणा दिएमा शुभ हुन्छ भन्ने गरिन्छ । दिवगंत बुबाआमालाई यस दिन पिण्ड दिने चलन छ र बाबा आमा वित्नु भएको समयमा छोराहरु घरमा नभएको बेलामा विशेष कारणबश काजकि्रया गर्न नपाएको खण्डमा माघे सक्रान्तिको दिन पिण्ड दिएमा स्वार्गिय आत्माले पाउँछन् भन्ने चलन छ ।
मसान्तीको दिन पौष महिनाको अन्तिम दिन देखि नै उपवास बसेर सक्रान्तिको दिन विहानै सक्ने जति नदीको घाटमा र नसक्ने जतिले खोला वा क्रवा पधेंरामा गएर नुहाई धुवाई गरी एकमुठी चामल एक मुठी मासको दाल र अदुवा पिण्डको रुपमा चढाउने गरीन्छ यसरी चढाउनुलाई मुठी दिने भन्ने चलन छ । यस्तो चलनलाई मगर परम्परा र संस्कृति अनुसार डिडाके चलन भनिन्छ । जसले पितृहरुको श्राद्ध गर्ने गरेको छ उनीहरुले भने खिरको डल्ला बनाई जौं र तिल राखेर पिण्ड दिने चलन छ । यसरी ठूलो नदीमा गएर पिण्ड दिदा वगाएर लाने हुनाले स्वर्गिय पितृले पाउँछन् भन्ने चलन पाइन्छ । पिण्ड दिइसकेपछि मात्रै उपवास बस्ने मान्छेले खाना खाने गर्दछन ।
माघे सक्रान्तिमा पिण्ड दिन नपर्ने मानिसहरु पनि विहानै नदीमा गएर नुहाउने चलन छ यसरी नहाउनुलाई मकर नुहाउने भन्ने गरीन्छ त्यसैले यसलाई मगर सक्रान्ति र मकर पर्व पनि भनिन्छ तर धनु राशिवाट सूर्य मकर राशिमा जाने हुनाले मकर सक्रान्ति भन्ने गरेको पनि पाइन्छ । यसरी मकर नुहाउनाले रोग ब्याधहरु सन्चो भई स्वास्थ भइन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । विशेष गरेर मस्र्याङडी माडी रीडी ज्याक्डी दरौडी राम्डी कोशी बराह क्षेत्र र देवघाटमा नुहाउनेहरुको घुइचो लाग्दछ ।
माघे सक्रान्ति मनाउनको लागि घर घरमा सेल रोटी र मासको रोटी बटुक पोल्ने गरीन्छ । माघेसक्रान्ति भएकोले मासको रोटी खानु पर्छ भन्ने गरेको पाइन्छ । तरुल तथा अन्य कन्दमूल िखंचडी र बिराम्ला पनि यी सवै चिजहरु पौषमा पकाएर माघमा एक महिनाको बासी खाने भन्ने गरेको पाइन्छ ।
मसान्ति सकिने रातमा नै प्राय जसो नदीको घाटहरुमा रातभरी ठूलो जात्रा वा मेला लाग्ने गर्दछ । विशेष गरेर युवा युवतीहरुले इष्ट मित्रहरु र वाल्लो गाउँले पल्लो गाउँलेलाई र पल्लो गाउँलेले वाल्लो गाउँलेलाई कौराहा र झ्याउरे नाच्न नचाउनको लागि विशेष निमन्त्रणा गर्ने चलन छ यसरी जात्रा जुदा भेटघाट हुने र रातभरी रोदी बसी कौराहा नाच्ने र नचाउने मनको कुरा साटासाट गर्ने अनि एक आपसमा खानेकुरा मिलेर खाने गरीन्छ । विशेष गरी साली साइनो पर्नेहरुलाई पिनालाई पकाउन पर्दैन सालीलाई फकाउन पर्दैन भनी तानेर नचाउने र जिस्क्याउने गरेको पाइन्छ ।
माघेसक्रान्तिको दिनदेखि मगरहरुको महत्वपूर्ण संस्कृतिक कौराहा नाच नचाउन शुरु गरीन्छ त्यसैले पनि मगर समुदायको लागि माघेसक्रान्ति विशेष महत्वको र महान चाडको रुपमा रहेको छ । माघेसक्रान्तिको दिनदेखि कौराहा नचाउन शुरु गरी साउने सक्रान्तिको अघिल्लो दिन याने की असार मसान्तसम्म नचाउने गरीन्छ । यो अवधिमा घाटु ७३ढघज्ञसयाउरे सोरठी र हुर्रा नाच जस्ता अरु नाच पनि नचाइन्छ तर कौराहा र घाटु चाहि शुरु गरेपछि धुर्ने अन्त्य गर्ने गरीन्छ । यसरी धुर्दा सवैलाई डाकेर भोज ख्वाउने चलन छ । माघेसक्रान्तिको दिन बन्दुक गुलेली र बासको धनुष वाण बनाई तारा हान्ने चलन पनि रहेको छ । यसरी तारा हान्नुलाई बोझो खेल्ने भनिन्छ । यो खेल जित्नेलाई फेटा गुथाई पगरी लगाइदिने गरीन्छ । गाउँलेहरु मिलेर कोलमा पूजा गरी गाउदै नाच्दै घुमेर कोललाई परीक्रमा गर्ने गरीन्छ यसरी परीक्रमा गरी घुम्नुलाई ढ्याक्के भनिन्छ । नेपाल भरीको मगर समुदायले माघेसक्रान्ति प्राय एउटै शैली र तरीकाले मानेको पाइन्छ ।
सन्दर्भ सामग्रीः पाल्पा, स्याङजा र तनहुँको मगरहरुको संस्कृति, केशरजंग बराल मगर र स्थलगत अनुभव
(पालटार-९ गोरखाका लेखक बरही मगर, मगर संघ हंगकंगका पूर्वमहासचिव हुन ।)