नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले राज्यको हरेक क्षेत्रमा सवै नेपालीको समान पहुँच हुनु पर्नेमा जोड दिएका छन् । रुपन्देहीको देदवहमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीले आयोजना गरेको घेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै थारुले २ सय ४० वर्षदेखि थिचोमिचोमा पर्दै आएका आदिवासी जनजातिहरु यस देशका धर्तिपुत्र भएकाले उनीहरुले पनि राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व गर्न पाउनु पर्ने बताउदै अध्यक्ष लेखिले विभेदमा परेका र पहिचान गुमाएका जनजातिहरुले अधिकार माग्नु जातियताको मुद्धा नभएको जिकिर गरे । आदिवासी जनजातिको आन्दोलन कुनै जाति र समुह प्रति लक्ष्यित नभई एकात्मक राज्यसत्ताका विरुद्ध भएको बताउँदै लोकतन्त्र सँगै आदिवासी जनजातिले आफनो पहिचान खोज्नु गलत नभएको दावी गरे ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष बसन्त घर्ति मगरले मुलुकलाई अन्तरिम संविधान २०६३ ले संघीय राज्य घोषणा गरे पनि व्यवहारमा लागु नभएको बताउदै केन्द्रीकृत शासन व्यवस्थाको सट्टा जातिय जनसंख्याको आधारमा समानुपाटिक प्रतिनिधित्व सहितको संघात्मक राज्यव्यवस्था जनजातिहरुले चाहेको बताए ।
कार्यक्रममा लुम्विनी विकास कोषका सदस्य सचिव राजेन्द्र बहादुर थापामगर, वाणिज्य कार्यालय रुपन्देहीका अधिकृत वावुलाल पल्लीमगर लगायतले बोल्दै जातिय एकता र सदभावको निम्ति जनजातिहरु एक जुट हुनु पर्नेमा जोड दिए । महासंघका अध्यक्ष होम बहादुर गलामीको अध्यक्षता र सचिव चन्द्रभान चौधरीको संचालनमा भएको कार्यक्रममा रुपन्देहीका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत आदिवासी जनजातिहरुको सहभागिता रहेको जनजाति महासंघले जनाएको छ ।
गोविन्द घर्ति, रुपन्देही
