राज्यसत्ता,
काठमाडौँ, भदौ ८ गते । सङ्घीय सांसद माननीय लक्ष्मी महतोको प्रमुख आतिथ्यमा स्वर्गीय नेता गोरेबहादुर खपाङ्गीमगरको ९ औँ स्मृति दिवस विशेष कार्यक्रमसहित भदौ ११ गते मनाइँदै छ । खपाङ्गी फाउण्डेशनको संयोजन र खपाङ्गी फाउण्डेशन महोत्तरी जिल्ला कमिटीको सहआयोजनामा यस वर्ष महोत्तरी जिल्लाको गौशाला नगरपालिका, रामनगरको मगर सङ्ग्रहालय भवनमा स्मृतिसभाको आयोजना गरी मनाइने भएको छ ।

सोही दिन गोरेबहादुर खपाङ्गी मार्गको प्रवेशद्वारको शिलान्यास गौशाला नगरपालिका प्रमुख डा. दीपेन्द्र महतोले गर्ने कार्यक्रमसमेत रहेकोे छ । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा पर्ने महेन्द्र राजमार्गको माईथान चोकदेखि दक्षिणमा भारतको सीतामढी जिल्लाको कन्हमा भन्ने स्थानसम्मको गौशाला नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने हुलाकी सडकको नाम नगरसभाको २०८१ चैत्र ३१ गतेको १४ औँ बैठकले ‘गोरेबहादुर खपाङ्गी मार्ग’ नामाकरण गरिसकेको छ ।

साथै , गोरेबहादुर खपाङ्गी फाउण्डेशन रुपन्देही शाखाले पनि पिस नाइस होटल, रविपथ, भैरहवामा पत्रकार महासङ्घ, केन्द्रीय परिषद् सदस्य लोकनेश ढेँगामगरको संयोजन र अशोक पुनमगर, राम अस्लामीमगर, शङ्कर गाहामगर, राधिका श्रीसमगर, डीबी थापालगायतकाहरुको व्यवस्थापनमा खपाङ्गीले नेपाली राजनीतिमा प्रतिपदन गर्नुभएका विचार, योगदानका साथै उहाँको जीवनीमाथि चर्चा परिचर्चासहित मनथन कार्यक्रम गर्ने व्यवस्थापन समितिका सदस्य राम अस्लामीमगरबाट राज्यसत्तालाई जानकारी प्राप्त भएको छ ।