मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको जनजागरण अभियान एवम् प्रत्येक गाउँगाउँसम्म सङ्गठन विस्तार गर्ने कार्यक्रम अन्तर्गत् ताप्लिजोङ क्षेत्र नं. २ को दोभानमा गरिएको ऐतिहासिक आमसभापछि २०६८ पुस १५ गते हाङ्पाङमा संघीय मचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाङपाङ गाउँ समिति गठन गरिएको छ । परिषदका केन्द्रीय सदस्य तथा उपत्यका उपाध्यक्ष विष्णु यक्सोको विशेष आतिथ्य तथा ताप्लिजोङ जिल्ला उपाध्यक्ष भुपेन्द्र माबो जिल्ला सदस्य नरेन्द्र मादेन, एलभी फिल्ड कमाण्डर राजा माबो, एलभी वीरेन्द्र माबो र लिम्बुवानी कलाकार खगेन्द्र यक्सोको आतिथ्य एवम् उपस्थितिमा हाङपाङको सरस्वती उच्च माविको प्राङ्णमा पुस १५ गते भएको भेलाले स्थानीय राजेन्द्र यक्सोको अध्यक्षतामा ११ सदस्यीय संघीय माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाङपाङ गाउँ समिति गठन गरेको हो ।
राज्यसत्ता डटकमलाई ढिलो गरी प्राप्त समाचार अनुसार परिषद हाङपाङ गाउँ समितिमा अध्यक्ष राजेन्द्र यक्सो, उपाध्यक्ष प्रेम यक्सो, सचिव जीवन चोङ्बाङ, सह-सचिव दिलकुमार यक्सो, कोषाध्यक्ष अमर लाओती र सदस्यहरु काजीमान पङ्धाक, अशोक आङ्बुहाङ, रामभक्त यक्सो, शेरबहादुर यक्सो, मनबहादुर यक्सो र यज्ञबहादुर यक्सो रहेका छन् ।
त्यसैगरी यही भेलाले लिम्बुवान भोल्युण्टियस्र(एलभी)को सिभिल कमाण्ड नवीन यक्सोको कमाण्डमा प्राइमरी कमाण्डरहरु फिरोज यक्सो, खगेन्द्र गुरुङ, दीपक आङ्बुहाङ र एलभीहरु चेतन प्रसाइँ, निखिल यक्सो, कमानसिङ यक्सो, मिलन यक्सो लगायत २१ सदस्यीय एलभी कमाण्ड समेत गठन गरिएको छ । साथै सल्लाहकारको रुपमा संघीय लिम्बुवान तुम्याहाङ, परिषद हाङपाङ गाउँ कार्य समिति अमरबहादुर यक्सो र हर्क यक्सोको संयोजकत्वमा गठन गरिएको छ ।
लिम्बुवानको सन्दर्भमा ऐतिहासिक कदम मानिएको यस भेलाले मचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाङपाङ गाउँकार्य समितिमा अधिकांश स्थानीय शिक्षक तथा बौद्धिक व्यक्तित्वहरु सङ्गठनमा आवद्ध भएका छन् । पुस ३ गते ताप्लिजोङको दोभानमा सम्पन्न ऐतिहासिक आमसभापछि लिम्बुवानका केन्द्रीय सदस्य विष्णु यक्सोको नेतृत्वमा ताप्लिजोङ क्षेत्र नं. २ को चाङ्ग नेसुम सोबुवा र हाङपाङ गाउँमा लिम्बुवानका लागि सचेतना तथा जनजागरण अभियान नै चलाइएको थियो ।
यस भेलाले आगामी माघ २५ र २६ गते एलभी प्राइमरी कमाण्डका अध्यक्ष र सचिवलगायतलाई जिल्ला कमिटिले प्रशिक्षण गराउने र अबको हरेक शनिबार गाउँ कमिटिको बैठक बसी सङ्गठन विस्तार गर्ने निर्णय समेत गरिएको छ । साथै लिम्बुवान ताप्लिजोङको २ नम्बर क्षेत्र हाङपाङमा आगामी ६ महिनाभित्र एक क्षेत्रीय आमसभा तथा विशेष प्रशिक्षण कार्यक्रम गर्ने योजना समेत तय गरिएको छ ।
कार्यक्रममा बोल्दै स्थानीय एमाओवादी गाउँ कमिटिका सचिव दिलकुमार सावाँले यो ९ जिल्ला लिम्बुवान लिम्बुवान नै हो भन्दै लिम्बुवानवासी भएको नाताले जुनसुकै पार्टीमा रहे पनि लिम्बुवान चाहनेहरुले लिम्बुवानको नारालाई बुलन्द पार्न आह्वान गरे । साथै उनले एनेकपा माओवादीले लिम्बुवानको नारा छोडेको दिन आफू माओवादी नरहने कुरा समेत बताए । स्थानीय सरस्वती उच्च माविका प्राचार्य हर्क यक्सोले आफू जन्मिदै कम्युनिष्ट भएको परिवारमा जन्मेको तर पनि आफ्नो रगत र माटोको पहिलो नाता लिम्बुवानसँग भएकोले अब लिम्बुवान हुनुपर्ने धारणा व्यक्त गरे ।
त्यसैगरी परिषदका केन्द्रीय सदस्य तथा कार्यक्रमका विशेष अतिथि विष्णु यक्सोले आफ्नो जीवनका सम्पूर्ण चाहनाहरु पूरा भएर अब यूकेको नागरिक हुन पाउँदा पनि आफू यूके नगएर उही जन्मभूमि हाङपाङ र लिम्बुवानको नागरिक हुन सारा कुरा त्यागेर अहिले लिम्बुवानको आन्दोलनमा लागेको बताउँदै सबैलाई यो आन्दोलनमा साथ दिएर लाग्न हार्दिक आह्वान गरे ।

यसरी नै परिषद ताप्लिजोङका जिल्ला उपाध्यक्ष भुपेन्द्र माबोले अब यो लडाइँमा सबै जातजाति भाषा धर्मसमुदायले साथ नदिएसम्म यो लिम्बुवान बनाउने यात्रा अधूरो रहने भएकोले सबै लिम्बुवानावासीले काँधमा काँध साथमा साथ मिलाउनको लागि आह्वान गरे । साथमा एलभी फिल्ड कमाण्डर अतिथि राजा माबोले सबै एलभीहरुलाई अनुशासित भएर सबैसँग सहकार्य गरेर काम गर्नआग्रह गरे ।
नव गठित समितिका सबै पधाधिकारी तथा सदस्यहरुले सङ्गठनको लक्ष्य-उद्देश्य अनुसार लिम्बुवानको लागि लागिपर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा उपस्थित अतिथि लिम्बुवानी कलाकार खगेन्द्र यक्सोले भेलालाई सम्बोधन गर्दै आफूले लिम्बुवानका लागि विभिन्न गीत-सङ्गीतमार्फत् लिम्बुवानको आवाज उठाउँदै आएको बताउँदै वहाँले आखिर जुनसुकै जाति र जुनसुकै पार्टीले जेसुकै भने पनि आखिरिमा सबै लिम्बुवानवादीहरु एकहुनुको विकल्प नरहेको बताए । उनले लिम्बुवानवादी सङ्गठनहरु जतिसुकै भएपनि गन्तव्य एउटै भएकोले जतिसक्दो चाडो एक भएर एउटै युद्ध मैदानमा उत्रनु पर्नेमा जोड दिए ।
डीबी आङ्बुङ, काठमाडौं
विष्णु यक्सो र खगेन्द्र यक्सो, ताप्लिजोङ
