नेवा देय् दबुले त्रिशुलीदेखि दुधकोसीसम्मको क्षेत्रलाई नेवा राज्य बनाउन माग गरेको छ । दबुको दुई दिने राष्ट्रिय भेलाले नेवार समुदायको बाहुल्य रहेको भन्दै सो क्षेत्रलाई नेवा राज्य बनाउन माग गरेको हो । दबुका अध्यक्ष नरेश ताम्राकारले त्यस वाहेक धनकुटा पाल्पा बन्दीपुर दोलखा रामेछापलगायतलाई नेवाः स्वशाशित इलाका बनाइनुपर्ने बताए ।
संविधानसभामा प्रस्तुत १४ प्रदेशको खाकामा पनि नेवा राज्य बनाइने उल्लेख छ । १४ प्रदेशको खाकामा उल्लेख गरे भन्दा दबुले दाबी गरेको नेवा क्षेत्र भने केही बढी देखिन्छ । यद्यपि राज्य पुनःसंरचना र राज्य शक्ति बाँडफाँड समितिले गरेको १४ प्रान्तको प्रस्ताव र त्यसमा नेवारको भाषिक सांस्कृतिक तथा जातीय पहिचानका आधारमा नेवाः प्रदेश समावेश गरेकामा भेलाले स्वागत गरेको छ ।
भेलाका सहभागी प्रतिनिधिले सर्वसम्मतरुपमा धर्मनिरपेक्ष संविधानमा संयुक्त राष्ट्र सङ्घले प्रत्याभूत गरेका अधिकारका आधारमा नेवारको भाषिक सांस्कृतिक राजनीतिक आर्थिक र प्राकृतिक स्रोतको अग्राधिकार तथा आइएलओ १६९ का आधारमा आत्मनिर्णयको अधिकारसहितको नेवाः स्वायत राज्य प्रत्याभूतमाग गरिएको छ । ताम्सालिङ्ग र नेवा राज्यको सिमानाको विषयमा केही मतभेद देखिए पनि वार्ताबाट सहमतिमा पुग्न सकिने नेवार समुदायका नेताहरुले बताएका छन् । काँग्रेसले नेवा राज्यलाई केन्द्रिय प्रदेश अन्र्तगत राख्न गरेको प्रस्तावमा भने उनीहरुको कडा आपत्ति रहेको छ ।
