
अर्थमन्त्री एवँ एनेकपा माओवादी स्थायी समिति सदस्य बर्षमान पुनले हालै गठन भएको राज्य पुन संरचना आयोगका सदस्यलाई जथाभावी बोल्दै नहिड्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा मंसिर २४ गते आयोजना गरको कार्यक्रममा बोल्दै उनले आयोगका सदस्यहरुले अन्तरवार्ता र भाषण गर्दै मन लाग्दो बोल्दै हिडेको प्रति आपत्ति जनाए । गुल्मीको तम्घासमा हुने नेपाल मगर संघको केन्द्रिय महाधिवेशन उद्घाटनको लागि गुल्मी जाने क्रममा मन्त्री पुनले पाल्पामा बोल्दै यस्तो धारण राखेका हुन ।
मन्त्री पुनले आयोग साझा भएकोले त्यसले प्रस्तुत गर्ने प्रतिवेदन साझा हुनुपर्ने भन्दै व्यक्तिगत टिकाटिप्पणी गरेर समय नखर्चन आग्रह गरेका छन् । आयोगका सदस्यहरुले आफू खुशी भाषण छाँटेर हिँड्न थालेपछि आयोग आफैले पनि मनपरी बोल्न नपाउने नियम बनाएको छ ।
अर्को प्रसंगमा मन्त्री पुनले सहमतीय सरकार बन्न कम्तिमा तीन महिना लाग्ने बताए ।सहमतीय सरकारको नेतृत्व पनि वर्तमान प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नै गर्ने उनको ठोकुवा थियो । सहमतीय सरकार निर्माणका लागि नेपाली कांग्रेसले माओवादी लडाकु समायोजन एवं व्यवस्थापनको काम पुरा गर्नु पर्ने भन्दै अडान लिएकाले ढिलाई भएको उनले साचारकर्मीलाई बताए ।
सरकारले आर्थिक क्षेत्रमा उत्साहजनक प्रगति गरेको अर्थमन्त्री पुनको दावी छ । उनले आर्थिक वृद्धिदर सकारात्मक रहेको मुद्रा संचिति र आयकरमा बृद्धि भएको भन्दै सन्तोष गर्ने ठाउँ प्रयाप्त रहेको उल्लेख गरे ।
देव पचभैया\पाल्पा
