
स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले आफूलाई पहाडे वाहुन र क्षेत्रीको रुपमा परिचित गराउने बताएका छन् । वर्गीय लडाईको नाममा १५ हजार नेपालीको हत्या तथा लाखौं नेपाली अंगभंग भएपछि मन्त्री बन्न पाएका रायमाझीले मंसिर १७ गते राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो घोषणा गरेका हुन ।
मन्त्री रायमाझीले अलिकता सङ्घीयता र धर्मनिरपेक्षताको कुरालाई अपभ्रंश गरेर जातीयताको नाममा सङ्घीयता र साम्प्रदायिक खालका कुरा आएपछि राष्ट्रियताका लागि देशलाई विखण्डनतर्फ जोगाउन आफू क्षेत्री हुनुकॊ नाताले राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेको दौरा सुरुवाल लगाउने निधोमा पुगेको बताए । सङ्घीयता, समावेशी र धर्मनिरपेक्षताको कुरा गरेर अन्य जातिहरु अधिकारसम्पन्न हुने भएकाले आफूले वाहुन र क्षेत्रको पहिचान कायम राख्न दौरासुरुवाल लगाउन लागेको मन्त्री रायमाझीको भनाई छ । मुलुकमा वर्गीय समस्या भएको दाबी गरेर घोषित रुपमै जातीय राजनीतिलाई बढावा दिने उनी पहिलो माओवादी नेता हुन ।
कार्यक्रममा रायमाझीले दौरासुरुवाल वाहेक नेपालको राष्ट्रिय एकताको प्रतिक केही हुन नसक्ने उल्लेख गरे । स्मरणीय छ लडाईकालमा माओवादीले जनतामात्रै राष्ट्रिय एकताको प्रतिक भएको बताउँथे । राजदरबारलाई जवरजस्त रुपमा राष्ट्रिय एकताको प्रतिक भन्दा भन्दै राजसंस्था सखाप भएको इतिहास पुरानो भईसकेको छैन ।
मन्त्री रायमाझीले भने, ‘राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेको दौरासुरुवाल सिलाउने फैसला गरेको छु लगाएर हिँड्छु साम्प्रदायिकता र विखण्डनलाई रोक्न दौरा सुरुवाल र खुकुरी भिर्नेछु ।’

