एनेकपा माओवादी स्थायी समिति सदस्य देव गुरुङले जातीय स्वायत्ततासहितको सङ्घीयता सुनिश्चित नभएसम्म संविधान जारी हुन नसक्ने बताएका छन् । एकीकृत नेवाः राष्ट्रिय मुक्तिमोर्चाले मंसिर १० गते राजधानीमा आयोजना गरेको ‘संविधानसभा र आत्मनिर्णयसहितको नेवाः स्वायत्त राज्य सुनिश्चितता’ विषयक कार्यक्रममा बोल्दै गुरुङ्गले यस्तो धारणा राखेका हुन ।
कार्यक्रममा नेता गुरुङ्गले आदिवासी जनजाति दलित महिला मधेशीलाई आत्मनिर्णयसहितको विशेष अधिकार दिए मात्र समाजलाई समानतातर्फ लैजान सकिने धारणा राखे । नेवा मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष दिलबहादुर श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा नेवाः लोकतान्त्रिक खलःका अध्यक्ष कृष्णबहादुर धौजुले नेवार लगायतका आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेर मात्रै संविधान लेख्नुपर्ने धारणा राखे ।
