मेरो सल्लाह बुद्धको शिक्षा बारे अध्ययन अभ्यास गर्दा बुद्धको मूल शिक्षा के हो ? त्यो थाहा पाउने गर्नुहोला । कुनै भिक्षु, लामा, बज्राचार्य गुरुले भन्यो भनेर भन्दैमा वा कुनै बौद्ध ग्रन्थमा लेखिएको छ भनेर नपत्याउनु होला । उनिहरूका उपदेश बुद्ध शिक्षासंग मिलेमा पत्याउनु होला नत्र त्यो बुद्ध शासन नाश गर्ने देवदत्तको सन्तानको उपदेश हो भनेर नकार्नु होला ।

कोहीकोही यस्ता मूर्खता गरेर उपदेश दिन्छ वा पुस्तक लेख्छ कि न हासुं न रुनु जस्तो हुन्छ । मनगढन्त तर्क दिएर आफूलाइ महा ज्ञानी महान मार्गमा लागेको विद्वान सम्झिन्छ । जस्तै– बुद्धले थेरवादलाइ, महायानलाइ, र वज्रयानलाइ फरक फरक धर्मचक्र प्रवर्तन गर्नुभयो रे ।
सुन्दा त गजबको इतिहासजस्तो लाग्छ । तर अर्थ बुझ्ने हो भने मूर्खता बाहेक केही पनि होइन । किनकि यसरी भनेर महान सम्झिनेहरूले धर्मचक्र प्रवर्तनको अर्थ र देशना गरेको परिस्थिति नै बुझेको छैन ।
१.धर्मचक्र प्रवर्तनको अर्थ के हो ? जब बुद्धले सहम्पति ब्रह्माको अनुरोध स्वीकार गरेर पहिलो चोटी दिएको धर्म देशना हो । बुद्धले पाएको ज्ञान बुद्धमा मात्र सिमित थियो । अब त्यो ज्ञान सबैले पाउने गरी प्रचार भयो अर्थात धर्म वा बुद्धको ज्ञानको प्रवाह घुम्न थाल्यो भन्ने अर्थमा धर्मचक्र प्रवर्तन वा धर्मको चक्का घुम्ने काम भनियो ।
जब पहिलो चोटी भनेर भनिसके पछि बुद्धले यही ज्ञान बारबार अरूलाइ पनि दियो भन्दा हास्यास्पद भएको हो । किनकि बुद्धले आफूमा सिमित ज्ञान प्रचार गर्यो भन्दा यो कति चोटी हुन सक्छ ? एकै चोटी मात्र हुन्छ । तब फेरि बुद्धले आफूमा सिमित ज्ञानलाइ बारबार पहिलो चोटी प्रचार गर्यो भन्दा बुद्धि पुग्यो त ? यसैले बुद्धले आफूमा सिमित ज्ञानको प्रचार पहिलो चोटी वा एकपल्ट मात्र भयो । यसैले यो सारनाथमा भएको मात्र हो । अन्यत्र त उहांले दिनु् भएको ज्ञानलाइ विस्तार गर्नुभएको मात्र हो । धर्मचक्र प्रवर्तन गर्नुभएको होइन ।
२.धर्मचक्र प्रवर्तनको परिस्थिति– बुद्धले पहिलो चोटि धर्मप्रचार गर्दा त्यहां कोही पनि भिक्षु उपासक उपासिकाहरूथिएनन्, अर्थात संघरत्न थिएन । त्यस समयसम्म मात्र बुद्ध र धम्म थियो । जब संघ वा उपासक उपासिकाको समूह नै हुदैन कसरी शाखा हुन्छ ? जब शाखा नै छैन तब बुद्धले कसरी तीन शाखालाइ ३ चाेटी धर्मचक्र प्रवर्तन गर्नु हुन्छ ? छैन त मूर्खताको भाषा ?
३.बुद्धशिक्षमा जुन वर्तमान शाखा थेरवाद, महायान, बज्रयान छन्, ती सबै बुद्धको समयमा थिएन । बुद्धको परिनिर्वाण भएको १०० वषपछि दोस्रो संगायनामा भिक्षुहरू बीच विवाद भएर छुट्टिए । ठूलो समूह महासांघिक भए, जुन पछि गएर महायान भए । यसैको हांगा निस्केर बज्रयान भए ।
जब बुद्धको पालामा यि शाखाहरू नै थिएनन् तब कसरी थेरवादलाइ, महायानलाइ, बज्रयानलाइ भनेर बुद्धले अलग अलग धर्मचक्र प्रवर्तन गर्नुहुन्छ ? धर्मचक्र प्रवर्तन त थेरवादलाइ पनि दिएको होइन । प्रथम शिष्य हुने सन्यासीहरू सेवक शिष्यहरूलाइ दिएको हो । यो उपदेश सुनेर केही दिन पछि सबैभन्दा पहिला कोन्डन्यले ज्ञान पाए र प्रत्येक दिन अन्य ४ जनाले ज्ञानपाएपछि भिक्षु बनाइयो र संघ स्थापना भयो ।
जुन उपदेश सुनेर बल्ल संघ स्थापना हुन्छ भने त्यो पहिलो चोटी दिएको उपदेश बुद्धको परिनिर्वाण पछि स्थापना भएको थेरवाद, महायान, बज्रयानलाइ कसरि उपदेश दिनु हुन्छ ? अर्थात आफ्नो मृत्युपछि कसरी अरूलाइ उपदेश दिनु भयो वा सकिन्छ ?
यसैले बुद्धले थेरवादलाइ , महायानलाइ, र वज्रयानलाइ फरक फरक धर्मचक्र प्रवर्तन गर्नुभयो रे भन्ने कुरा तथ्यलाइ नस्वीकारी गरेको बकं फुसुलु (बकम्फुसे) वा वाहियात गफ वा पागलपन मात्र हो । साधुवाद ।