एनेकपा माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो पटक ‘आदिवासी\जनजाति’ शब्दको प्रयोग गरेका छन् । व्यवस्थापिका संसदको वैठकमा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा भोट माग्ने क्रममा उनले ‘आदिवासी\जनजाति’ शब्द प्रयोग गरेका हुन ।
जातीय आन्दोलनमा ठूलो योगदान गरेको दाबी गर्ने पार्टीका अध्यक्षले अहिलेसम्म यो शब्द प्रयोग गरेको सुनिएको थिएन । ‘आदिवासी\जनजाति’ भन्नु पर्दा दाहालले ‘जनजाति’ शब्द प्रयोग गर्दथे । सुन्दा सामान्य लागे पनि ‘जनजाति’ भन्नु र ‘आदिवासी\जनजाति’ भन्नुमा धेरै ठूलो अन्तर छ ।
त्यति मात्रै होइन नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि अहिलेसम्म ‘आदिवासी\जनजाति’ शब्दको प्रयोग गरेको सुनिएको छैन । ‘आदिवासी\जनजाति’ भन्नु पर्दा भट्टराई ‘जाती-जनजाति’ भन्ने शब्द प्रयोग गर्छन् ।
कुल जनसंख्याको ३७ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको ५९ आदिवासी जनजातिलाई बुझाउने सही शब्द प्रयोग नर्गनुलाई सामान्य मान्न सकिएला ?
