स्याङ्जा
सदरमुकाम स्याङ्जा बजारमा सामाजिक कार्यक्रम गरिरहेको मगर भाषा संस्कृति संरक्षण प्रतिष्ठानको पहलमा आयोजना गरिएको ६ दिने वर्कसप तालिम सम्पन्न भएको छ । नाटक क्षेत्रमा वर्षौं अनुभव हासिल गरेका राज थापा र मगर भाषाका प्रथम चलचित्र निर्देशक एवम् चलचित्रकर्मी युवराज मास्की मगरले सहजीकरण गरेका उक्त कार्यक्रममा यसै वर्ष आदिवासी नाटक महोत्सव हेटौंडामा प्रदर्शन गरिएको मगर भाषाको नाटक मोईका कलाकारहरु लगायत अन्य मगर सहभागीहरु गरि २१ जनाले ६ दिन सम्म प्रशिक्षण लिएका थिए । यस क्षेत्रमा कसरी सरभाईभ गर्ने भन्ने विषयमा समेत आधारित रहेर प्रशिक्षण गराइएको थियो ।
यस प्रशिक्षणमा सहभागी भएका कलाकारहरुले नै मगर विषयवस्तुमा आधारित नाटक तयार गर्ने जिम्मा लगाई समापन भएको यो प्रशिक्षण कार्यक्रम अब २ हप्ता भित्र स्याङ्जाको बाडखोला वा बरजा भन्ने ठाउँमा प्रर्दशन गर्न तयार गरिएको छ । तयार गरिएको नाटकलाई देश भर देखाउन विभिन्न ठाउँमा गठन भएको मगर संघ-संस्थासँग सहकार्य गरि प्रदर्शन गर्ने भन्ने कुरा समेत भएको छ ।
मेजन पुन मगर, स्याङ्जामा
