नेपाली नागरिकता नत्यागेका भारतीय गोर्खा भूपूहरुले भारतीय स्वतन्त्रता दिवसलाई उत्सवको रुपमा मनाएर नेपाली नागरिकता त्यागेर बेलायतमा बसिरहेका बेलायती गोर्खा भूपूहरुले समेत गर्न नसकेको दुस्साहस गरेकाछन् ।
– जेवी पुन मगर
करिब ३० हजार नेपालीहरुको घनत्व रहेको चीनको स्वशासित शहरमध्ये सबैभन्दा धनी मानिएको हङकङमा नेपालीपनको नौटकीं बारम्बार देख्न पाईन्छ । कुनैबेला नेपाली डायस्पोराका विख्यात कवि भूपी शेरचनले ‘हामी बुद्धु छौं र त बहादुर कहलाइन्छौं ’ भन्ने मार्मिक कविता कोरेकाथिए । कम्तिमा हङकङेली नेपालीहरुको ब्यवहार हेर्दा उनको कविता यहाँको सन्दर्भमा खुब फिट हुन आँउछ । सन्दर्भ भारतीय भूपूहरुले आयोजना गरेको भारतीय स्वतन्त्रता दिवसको हो ।
निकै तामझामका साथ करिब ८ सय भारतीय भूपूहरुको एउटा टोलीले यहि आईतवारका दिन यूमातेई हलमा भारतीय स्वतन्त्रता दिवसको विगुल फुके । नाचगान गरे । हर्षाेल्लास मनाए ।
भारतीय महाबाणिज्यदुतावासका प्रतिनीधि , नेपाली बाणिज्यदुत, नेपाली संघसंस्थाका प्रमुखहरुलाई अगाडि राखी उत्तेजक हिन्दी गीतमा नेपाली बालाहरुलाई नचाएर सम्पन्न गरिएको कार्यक्रमले एउटा गम्भीर प्रश्न छाडेकोछ – के भारतीय सैनिक सेवामा काम गर्ने करिब ५० हजार नेपाली यूवाहरु र लाखौं भूपू सैनिकहरु भारतीय नागरिक हुन् ? नेपाली नागरिकता बोकेका यिनको राष्ट्रियताको सीमा छैन ?
आफ्नो जिविकोपार्जनका निम्ति भारतीय स्वाधिनता र स्वतन्त्रताको निम्ति परेको खण्डमा ‘आफ्नो बुवाआमा सम्मलाई वध गर्न’ पछाडि नहट्ने कसम खाएर सैनिक सेवामा छिर्ने नेपाली यूवाहरु अवकाशपछि पनि त्यहि कसमलाई निर्वाह गर्दारहेछन् भन्ने आँशका केहि भूपूहरुको उपद्रोले अझ बढाउन सक्छ । उनीहरु भारतीय सरकारको पेन्सन खाइरहेकोले नुनको सोझो गर्न भारतीय स्वतन्त्रता दिवस मनाएको हो भनि मान्ने हो भनेपनि एउटा सार्वभौम देशका जनताले अर्काको देशको स्वतन्त्रता दिवसलाई उत्सवकै रुपमा मनाउन कसरी संभव छ भन्ने कुरा जो कोहिले पनि प्रश्न गर्नेछन्् । कम्तिमा मेरो जानकारीमा नेपाली भूमीमा भारतीय गोर्खा सैनिकहरुले यस्तो नौटकीं र दुस्साहस कम्तिमा अझैसम्म गरेको थाहा छैन । अनि, हिंजो भर्खर बेलायती भूपू गोर्खा सैनिक वा तिनका सन्ततिका आइडीकार्डमा हङकङ छिरेका यी भारतीय भूपूहरुलाई यस्तो नाटक मन्चन गर्ने सल्लाह कसले दिएको होलान् ? म स्वंय भारतीय सैनिकको छोरोलाई समेत लज्जा लाग्ने यस्तो कार्यक्रमले कसैको शीर ठाडो बनाएकोछैन ।
बेलायती साम्राज्यको अधिनस्थ रहेको भारतीय सत्ता उनीहरुको चगुंलबाट फुत्केको दिनलाई भारतीयहरुले स्वतन्त्रता दिवसको रुपमा मनाउदै आएकाछन् । अचम्म के छ भने त्यहि दिवस हाम्रा भारतीय भूपूहरुले कुनैबेला बेलायतको अधिनस्थ ( अहिलेपनि सन्धि मार्फत बोयतको अप्रत्यक्ष राज हङकङमा रहि नै रहेको छ ) रहेको हङकङमा काम गर्ने आफ्नै दाजुभाई बेलायती भूपू सैनिकहरुको आइडीकार्डमा आएर सम्पन्न गरेकाछन् । एकातर्फ ‘राष्ट्रियता भाँडमा जाओस् नुनको सोझो प्रमुख हो ’ भन्दै भारतीय भूपूहरु भारतमा बेलायती साम्राज्य ढलेको स्मरणमा हङकङमा हर्षबढाई गरिरहेकाछन् भने अर्काे तर्फ त्यहि भूपूहरु बेलायती गोर्खाहरुको आइडीकार्ड बोकेर बेलायतको नमक पनि पचाइरहेकाछन् । गजबको विरोधाभास छ । धन्य हो नेपाली बहादुर यस्तो अपरम्पार लिला तिम्ले मात्र गर्ने खुबी राख्छौ । झण्डै, कार्यक्रममा भारतको राष्ट्रिय गीत जनगण मण…..बजाउन चुकेछन्, भूपूहरु । उनीहरुको चाल हेर्दा त्यो पनि गर्लान भन्ने डर थियो ।
कुनै बेला तत्कालिन राजा महेन्द्रले भारतीय सिमानामा भारतीय गोर्खा भूपू सैनिकहरुलाई सीमा सुरक्षार्थ तैनाथ गरेकाथिए । रोजगारको क्रममा यूवा जिवन भारतीय सेनामा बिताएपनि अवकाशपछि भूपूहरु आफ्नो राष्ट्रियताप्रति प्रतिबद्ध रहन्छन् भन्ने अध्ययनका आधारमा उनले त्यस्तो गहन जिम्मेवारी सुम्पेकाथिए । त्यतिबेला तराईका सिमानामा राखिएका भूपू सैनिकहरुले देशको स्वाधिनता र राष्ट्रियताको निम्ति ज्यानको बाजी लगाएको इतिहास छ । तर आधुनिक भूपूहरुले त्यस्तो छविमाथि दाग लगाउने कुचेष्टा गरेकाछन् ।
नेपाली यूवाहरु बेलायती सेना, भारतीय, बु्रनाई, सिगांपुर प्रहरी र अहिले त विश्वभरका देशहरुमा तैनाथ छन्, तिनले देशको स्वाधिनताका लागि सधैं बलिदानी दिदै आएकाछन् । तिनले नमक खाँए भन्दैमा सम्बन्धित देशको गुनगानमा ‘ स्वतन्त्रता दिवस ’ मनाउन जरुरी पनि ठान्दैनन् । र, उनीहरुले गुर्खाका लागि नोकरी पाउन यो विध्न चाकरी गर्नुपर्छ भन्ने दिमागमा सोंचेका पनि छैनन् । तर हङकङमा भारतीय भूपूहरु जो नागरिकको हैसियतले नेपाली हुन्, भारतभक्तिको चाकरीपनको उत्कर्ष देखाएर जगहसाई गरेकाछन् । नयाँ जोगीले बढी खरानी घसेको त छ । तर त्यसले उसलाई कति कुरुप देखाएकोछ भन्ने कुरा उसले देखेकोछैन ।
हेक्का राख्नुपर्ने कुरा के हो भने जसले जुन राष्ट्रियता बोकेको उसले विदेशभूमीमा आफ्नो राष्ट्रियता प्रदर्शन गर्न मरिहत्ते गर्छ । हङकङेली नेपालीहरुले नेपाली राष्ट्रियताका प्रतिकहरु प्रदर्शन गर्न आयोजन गर्ने विभिन्न जातीय, साँस्कृतिक, सामाजिक र राजनैतिक पर्वहरु त्यसैका दृष्टान्ट हुन् । त्यसले नेपाली राष्ट्रियतालाई विश्वसामु चिनाउछ । नेपालीपनको गर्व महसुस गराँउछ । हेर हामी नेपाली कति धनी छौं भन्ने चुनौती दिन सक्छौं, दिइरहेकाहुन्छौ । के हामीले हङकङमा पचासौं बर्ष देखि यहाँको सुरक्षा निकायमा बसी सरकारी नमक खाइरहेका पाकिस्तानीहरुले अरु कुनै देशमा गएर हङकङको स्वतन्त्रता दिवस मनाएको देखेका , सुनेका छौं ? अर्थात अरु कुनै देशका नागरिकले अर्काे सार्वभौम राष्ट्रको स्वतन्त्रता दिवसको जयजयकार गरेको सुनेकाछौं ? गर्देनन् । उनीहरुले आफ्नै देशको स्वाधिनता दिवस मनाएका हुन्छन् । तर भारतीय गोर्खा भूपूहरुको आइतवारे कार्यक्रमले नेपालीपन र नेपाली राष्ट्रियताको हैन भारतीयपन र भारतीय राष्ट्रियताको सिधा वकालत गरेकोछ । नेपाली नागरिकता त्यागेर बेलायतमा बसिरहेका बेलायती गोर्खा भूपूहरुले समेत गर्न नसक्ने यस्तो गम्भीर कर्तुत अझै नेपाली नागरिकता नत्यागेका भारतीय भूपूहरुले निर्लज्ज गरेर देखाइदिएकाछन् । हेर्नुछ, यहि उत्साहका साथ भोलि यिनले नेपालका दिवसहरु कति मनाउदा रहेछन् ।
प्रवासमा बस्नेहरुका निम्ति राष्ट्रियता उसको सबैभन्दा ठूलो परिचय हुने गर्छ । उ कुन जाति, कुन समूदाय, कुन क्षेत्रबाट आएको भन्ने कुरा अरु राष्ट्रियताका निम्ति गौण कुरा हुन् । तिमी को हौ ? भनि विदेशीले सोधेको खण्डमा म नेपाली हुँ भन्ने जवाफ हाम्रो मुखबाट निस्किहाल्छ । म गुरुङ हुँ । म राई हुँ । म बाहुन हुँ । म धरानको हुँ । काठमाण्डुको हुँ । भन्ने कुरा त्यसपछि मात्र निस्कन्छन्, जुन कुरा विदेशीका लागि प्राथमिकताका विषय नहुनपनि सक्छन् । बरु त्यो भन्दा अगाडि तपाईको खुबी र सीप झल्काउने पहिचान बोकेको सिपाही हुँ । वकिल हुँ । पत्रकार हुँ । भन्ने प्रश्न आउनसक्छ । तर भारतीय गोर्खा भूपूहरुले आफुलाई नेपालको नागरिकको रुपमा चिनाउन भन्दा भारतीय नागरिक ( दार्जिलिङे नेपाली मुलका भारतीयहरु जस्तै ) को रुपमा चिनाउन गर्व गरेको यो कार्यक्रमले देखाएकोछ । यी भूपूहरुले यस्तो कार्यक्रम आफैले गरेकाहुन् या नेपाली मूलका भारतीय नागरिकको उक्साहटमा या भारतीय संस्थापन पक्ष बाट त्यो भोलि खुल्नेनै छ । यदि नेपाली मूलका भारतीयहरुको उक्साहटमा यस्तो गरिएको हो भने तिनको पहिचान गरि अर्काको सार्वभौम मामिलामा यस्तो दुस्साहस गर्ने लाई के नसिहत दिन सकिन्छ, दिइनु पर्दछ । यदि हैन भारतीय संस्थापन नै यसमा संलग्न रहेको हो भने एउटा सार्वभौम देशका नागरिकहरुलाई आफ्नो स्वतन्त्रता दिवस मनाउन बाध्य पार्ने त्यस्ता कर्मचारीको रेकर्ड नेपाल सरकार मार्फत भारतीय सरकार समक्ष पठाईन ढिलाई गरिनु हुदैंन । नेपाली बाणिज्यदुत किरण शाक्यकै सामु यो कार्यक्रम गरिएकोले यसमा नेपाली महाबाणिज्यदुतावासले कुटनैतिक रुपमा यस्तो पहलकदमी गर्नु तड्कारो छ । के बिर्सनु हुदैंन भने नेपाली नागरिक भारतीय सेनामा जाओस् या बेलायती सेनामा तिनलाई सम्बन्धित राष्ट्रले नेपालकै राष्ट्रियता अखण्डतामाथि ढावा बोल्न दुरुपयोग नगरिने अहिलेसम्मका सन्धि सम्झौता र यी देशबीच हुदैं आएका कुटनैतिक सम्बन्धले प्रष्ट बोलिरहेको अवस्थामा यस्तो भएकोले यसलाई सानो गल्ति भनेर चुपचाप बस्नु मुर्खता मात्र हैन गैर जिम्मेवारी पनि ठहरिनेछ ।
एभरेष्ट साप्ताहिकबाट