नेपाल भूतपूर्व सैनिक सङ्घ गोरखा भर्ती केन्द्र बन्दको विपक्षमा देखिएको छ । व्यवस्थापिका संसद अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समिकिा सभापति पदमलाल विश्वकर्मालाई भदौ ७ गते ज्ञापनपत्रमार्फत संघले यस्तो आग्रह गरेको हो । सङ्घले एमाओवादी काँग्रेस र एमालेलाई ज्ञापनपत्रको बोधार्थ दिएको छ ।
सरकारले स्वदेशमा रोजगारी दिन पनि नसक्ने अवस्थामा गोर्खा भर्ती बन्द गर्न नहुने ज्ञापनपत्रमा उल्लेख छ । सङ्घका अध्यक्ष नारायणप्रसाद कोइरालाले भूपू सैनिक र तिनका परिवारलाई गैर आवासीय नेपालीको रुपमा लिन नहुने बताएका छन् । बेलायती सेनाबाट ३६ हजार निवृत्त र तीन हजार बहालवाला छन् भने भारतीय सेनामा एक लाख ५० हजार निवृत्त र ५५ हजार कार्यरत छन् । सिङ्गापुरबाट निवृत्त १० हजार र तीन हजार कार्यरत रहेका छन् ।
एमाओवादी लगायतका कम्युनिष्ट घटकहरु भने पहिलेदेखि नै गोर्खा भर्तीको विरोधमा देखिएका छन् । संघका महासचिव गर्जबहादुर गुरुङ्ग विदेशमा रहे पनि गोर्खा भूपूहरुको नेपालको नागरिकता कायमै रहनु पर्ने बताउँछन् ।
नेपालमा आदिवासी जनजातिहरु राजनीति र निजामति सेवामा नहुनुको पछाडि गोर्खा भर्तीलाई एक कारण मान्नेहरु पनि छन् । गोर्खा भर्तीमा जाने भनेर सानैमा पढाई छाड्ने वा राम्रो पढाई भएकाहरु भर्ती हुन गएपछि राजनीतिमा उनीहरुको सहभागीता नगन्य भएको एक थरीको तर्क छ ।
