राजकुमार लेखीको पार्टी र जनजाति आन्दोलन

Read Time:11 Minute, 25 Second


कृष्णराज चौधरी
जातीय पार्टीको औचित्य नदेख्नुको अर्थ जनजाति महासङ्घकै आन्दोलनबाट लेखीको मोहभङ्ग भएको हो भन्न सकिन्छ । त्यसैले त उनले बाहुन, क्षेत्रीलाई समेत मिलाई नयाँ पार्टीको घोषणा गर्नपुगे ।

जेठको दोस्रो साता नेपाल आदिवासी\जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखी एउटा सानो समूहका साथ ‘नेपाल नागरिक पार्टी’को घोषणा गर्दै राजनीतिको नयाँ रङ्गममञ्चमा देखिएका छन् । लेखीको नयाँ पार्टीको घोषणाले जनजाति महासङ्घसँग आबद्ध हुनेहरूको बीचमा एक किसिमको तरङ्ग त ल्यायो नै साथै उनी आबद्ध दल नेकपा एमालेमा पनि अर्का झट्का लागेको महसुस गरियो ।

पार्टी खोल्नेबारे जनजाति महासङ्घका मुख्य पदाधिकारीसँग पनि कुनै छलफल गरिएनछ । त्यसैले महासचिव आङकाजी शेर्पाको मोबाइलमा लेखीले नयाँ पार्टी खोलेको बारेमा प्रतिक्रिया माग्नेहरूको ओइरो लागेपछि शेर्पाले भन्ने अवस्था आइपरेछ- ‘म महासङ्घको प्रवक्ता हुँ, लेखीको होइन ।’ आखिर किन छाडे त लेखीले एमाले ? किन मोहभङ्ग भयो तिनको एमालेसँग ? महासचिव शेर्पा भन्छन्- ‘नयाँ पार्टी खोल्ने छनक लेखीले ४/५ महिना पहिल्यै उनीसँग गरेका थिए ।’ त्यसबेला नयाँ पार्टी खोल्ने हतार नगर्न तथा महासङ्घकै बाँकी रहेको अवधि राम्ररी पूरा गर्न आफूले सुझाव दिएको शेर्पा बताउँछन् ।

नयाँ पार्टी खोलेको लगत्तै सीड्स संस्थाले आयोजना गरेको आफ्नो पहिलो सार्वजनिक बहस कार्यक्रममा लखीले नयाँ पार्टी खोल्नुको उदेश्य राम्रो व्याख्या गर्न सकेनन् । उनले भने- अब ठूलाहरूको पिछलग्गू भएर बस्न सकिन्न । ती सबैमा बाहुनवादी चिन्तन बोकेकाहरूको बोलवाला छ । हामी राज्यसत्तामा आफ्नो उपस्थिति खोज्छौँ । हात्ती जस्तो पार्टीमा मुसा जस्तो प्रतिनिधित्व गएर राज्य सत्ता पाउन सकिन्न । त्यसैले हामी हात्ती भएरै छिर्न चाहन्छौं ।

लेखीको त्यस भनाइमा त्रिवि मानवशास्त्र विभागमा प्रध्यापनरत मानवशास्त्री डम्बर चेम्जोङको बुझाइ छ- “लेखीले सिङ्गो आदिबासी जनजाति महासङ्घलाई नै ‘मुसा’ को पगरी भिराइदिए । यो भन्दा लाज मर्नु अरु के नै होला र ? वास्तवमा महासङ्घले पनि एक किसिमले आदिबासी, जनजातिको वकालतमा अप्रत्यक्ष ढङ्गले राजनीति नै गरेको हो । यसरी महासङ्घलाई ‘मुसा’ देख्नेले अध्यक्षको गरिमामय पदमा बस्न सुहाउँदै सुहाउँदैन ।’

राजकुमार लेखी

लेखीले डा. हर्क गुरुङ बहस शृङ्खलामा आफ्नो विचार प्रस्तुत गर्दै धेरै अध्ययन मनन चिन्तन पश्चात् नेपाल नागरिक पार्टी खोलेको जिकीर गरे । साथै जेठ १४ गतेसम्म आफूहरूको चाहना पूरा नभएको, सोचेको कुरा भताभुङ्ग भएकाले नयाँ पार्टी खोल्नु परेको बताए । तर पार्टी खोल्ने क्रममा के कस्तो अध्ययन मनन चिन्तन गरियो ? जेठ १४ गते भित्रसम्म कस्तोखाले चाहना पूरा भएन ? कुन सपना भताभुङ्ग भयो ? त्यसको बेलीबिस्तार बहसमा उपस्थित सहभागीको कारण पनि उत्तर दिएनन् । या उनीसँग ठोस उत्तर नै थिएन । बरु उनको उत्तर उही हात्ती र मुसाकै कहानीमा गोलमटोल थियो । कुनै ठोस जवाफ थिएन । यहाँनेर एउटा अहम प्रश्न उठ्छ, के लेखीको चाहना संविधानसभाको म्याद नथपियोस् भने थियो ? आखिर कुन सपना भताभुङ्ग भएको कुरा गरे उनले ?

आदिबासी जनजाति महासङ्घको केन्द्र, जिल्ला तहको भेलामा छुट्टै पार्टी खोल्ने चर्काे बहस चल्दै आए पनि आदिबासी जनजातिहरू आफू केन्दि्रत पार्टी खोलिने अभियानमा मधेसी भन्दा निकै पछाडि छन् । गोरे बहादुर खपांगी र एमएस थापा मगरहरूको अगुवाइमा रहेको राष्ट्रिय जनमुक्ति पार्टी नै आदिबासी जनजातिहरूको मनोभावना बोकेको पहिलो पार्टी भनेर चिनियो । पछि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च देखापर्‍यो र यो दुई चिरा भएर सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको रूपमा पनि उदाएको छ । यी दुई पार्टीभित्र थरुहट, लिम्बुवान, तमुवान, खम्बुवान, तामसालिङ जस्ता स्वतन्त्र मोर्चा पनि आबद्ध छन् । यति धेरै जातिको मोर्चा लागिपर्दा पनि संविधान सभा चुनावमा जम्मा दुई सभासद ल्याउन सके ।
लेखीको तर्क छ- त्यसरी सानो सानो पार्टीको औचित्य छैन । जातीय पार्टी बनाएर राज्यलाई चुनौती दिन सकिन्न । त्यसैले हामी आदिबासी, दलित, मुस्लिम, बाहुन क्षेत्री सबैलाई मिलाएर ठूलो पार्टी बनाई अघि बढ्न चाहन्छौं ।

जातीय पार्टीको औचित्य नदेख्नुको अर्थ जनजाति महासङ्घकै आन्दोलनबाट लेखीको मोहभङ्ग भएको हो भन्न सकिन्छ । त्यसैले त उनले बाहुन, क्षेत्रीलाई समेत मिलाई नयाँ पार्टीको घोषणा गर्नपुगे । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका विदेश विभाग प्रमुख तथा तामाङसालिङ स्वायत्त राज्य परिषद्का अध्यक्ष बुद्ध छिरिङ भन्छन्- सधैँ सत्तामा रहिरहने नेपाली काङ्ग्रेस जति उदारवादी हुन खोजे पनि उदार भएन, वामपन्थी पार्टी एमाले/माओवादीहरूको पनि उही हाल छ, बाहिर चर्काे कुरा गर्छन् । जातीय राज्यको वकालत गर्छन् तर भित्रभित्रै कैँची चलाउँछन् । त्यसैले तेस्रो वैचारिक ध्रुवको रूपमा मधेसी राजनीति सतहमा आएको हो । त्यसैको कडीको रूपमा लेखीको पनि नयाँ पार्टी आएको मान्नुपर्छ । अध्यक्ष छिरिङ अगाडि भन्छन्- ‘तर ठोस शक्ति निर्माण कसरी गर्ने, आफ्नो स्थान कसरी मजबुत बनाउने, कसरी उपलब्धि हासिल गर्ने सवालमा बहस कम देखिन्छ, खाली पार्टीको नाममा पार्टी दर्ता गर्ने काम भैरहेको छ । लेखीको पार्टी त्यस्तो नहोस् ।’

अध्यक्ष छिरिङले त्यस्तो चिन्तन गरे पनि लेखीको पार्टीमा भूकम्प ल्याउने कुनै अनुहार देखिएका छैनन् । त्यस पार्टीमा चलतापुर्जा भनेका लेखी नै देखिन्छन् । उनले केही सभासदसम्मलाई ल्याउन सकेको भए केही हलचल पैदा गर्दाे हो । यसले लेखीको पार्टी पनि दर्ताको नाममा दर्ता मात्रै त हुने होइन भन्ने प्रश्न जन्माएको छ । जनजाति महासङ्घका महासचिव आङकाजी शेर्पा लेखीको नयाँ पार्टीमा देखिएको अनुहार हेर्दा आफू छक्क परेको बताउँछन् । शेर्पा भन्छन् – ‘नयाँ पार्टी खोल्नु महासङ्घको निर्णय नभै लेखीको नितान्त व्यक्तिगत निर्णय हो । त्यसैले उनको कदममा असहमति, समर्थन दुबै छैन । महासङ्घका पूर्व महासचिव, अध्यक्षहरूले राजनीति गरेकै छन्, नभए सङ्घसंस्था खोलेकै छन् । त्यसैले लेखीले नयाँ पार्टी खोल्नु अनौठो नजीर होइन । तर जो जो पात्र उनले आफ्नो नयाँ पार्टीमा भित्र्याएका छन् ती झिना मसिना देखिए । यसले मलाई अचम्मित बनायो, कुनै उत्साह ल्याएन ।’

जनजाति महासङ्घका पूर्व महासचिव डा. ओम गुरुङ आफ्नै पालामा पनि महासङ्घलाई नै जनजाति पार्टी बनाआँै भन्ने प्रस्ताव आएको सम्भिmन्छन् । डा. कृष्ण बहादुर समेत सो प्रस्तावको हिमायती भएको बताउँदै यसको बारेमा व्यापक छलफल गर्न नसकिएको यथार्थ स्वीकार्छन् । अहिले कुनै छलफल नै नगरी एक्लो ढङ्गले लेखीले पार्टी खोलेको डा. गुरुङलाई चित्त बुझेको छैन । डा. गुरुङ भन्छन्- ‘पार्टी नै खोले पनि महासङ्घको अध्यक्षको पदावधि सकाएर खोलेको भए राम्रो हुन्थ्यो । यो महासङ्घप्रति लेखीको सरासर गद्दारी हो । यसरी कुनै छलफल नै नगरी हचुवाको भरमा पार्टी खोल्दै जाने हो भने कहीं टुङ्गोमा पुगिन्न ।’

लेखीले नयाँ पार्टी खोलेकोमा महासङ्घ भित्रकै एमाले पङ्क्ति सबैभन्दा बढी रुष्ट छ । अड्कल जे जस्तो गरिए पनि अब हेर्न बाँकी छ । नेपाल जनजाति महासङ्घमा एमाले समर्थक पदाधिकारीहरूको बोलवाला छ, महासङ्घ एमालेकरण भयो भन्ने हल्ला त्यसै चलेको होइन । यदि यी समर्थकहरूले लेखीले पार्टीप्रति गद्दारी गर्‍यो, यसलाई हटाउनुपर्छ भन्ने अभियान चलाए भने लेखीले नयाँ स्वतन्त्र पार्टी खोले भन्ने बुझ्नुपर्छ । कानमा तेल हालेर बसे भने उनले खोलेको नयाँ पार्टी एमालेकै अवैध सन्तान हो भन्ने बुझ्नुपर्ने हुन्छ । एमालेजस्तो हात्ती पार्टी छाडेर अर्का नयाँ हात्ती पार्टी बनाउने लेखीको सपना भने फलामको च्यूरा चपाउनु सरह हुने देखिन्छ ।

(साहित्यकार तथा सचारकर्मी चौधरी जनपहुँच मासिकका सम्पादक हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %