
नेपाल आदिवासी जनजाति महासंघले निर्धारित समयमा संघीय र समावेशी संविधान जारी हुन नसकेको अवस्थामा प्रतिगामीतत्व र प्रतिकि्रयावादीहरुले शिर उठाउने खतरा औंल्याएको छ । भदौ १४ गते भित्र संविधान जारी नहुँदा अकल्पनीय अवस्था आउन सक्ने कुरालाई मध्येनजर गरेर महासंघले तीन दलको कार्यालयमा धर्ना दिएको छ ।
एमाओवादी काँग्रेस र एमालेको केन्द्रिय कार्यालयमा धर्ना दिन पुगेका उनीहरुले सहमतीय सरकार बनाउनुको विकल्प नरहेको जनाएका छन् । महासंघका अध्यक्ष राजकुमार लेखीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान जारी गर्न राष्ट्रिय सहमतीय सरकारको अपरिहार्यतालाई फेरी बहुमतीय सरकारमा विस्रजन नगरियोस् ।’
विज्ञप्तीमा सहमतीय सरकारको विपक्षमा जानु अन्तरिम संविधान २०६३ विपरीत भएपनि प्रमुख दलहरु बहुमतीय सरकार गठन र विघटनको खेलमा लाग्दा संविधान निर्माण जस्तो अतिमहत्वपूर्ण समय खेर गएको उल्लेख छ । महासंघले संविधान निर्माणको निर्धारित कार्यतालिका पालना गर्न दलहरुलाई आग्रह गरेको छ ।


