संयुक्त तराई जनतान्त्रिक मुक्तिमोर्चा र सरकारबीचको वार्तामा पाँच बुँदे सहमति भएको छ । शान्ति तथा पुर्ननिर्माणमन्त्री पम्फा भुसालका अनुसार पाँचबुँदे सहमतिअनुसार सशस्त्र युद्धरत मोर्चाले आफूसँग भएको हतियार सरकारलाई बुझाएपछि मात्र उनीहरुविरुद्ध लगाइएको सबै मुद्दा फिर्ता लिइनेछ । अर्काे वार्ताअघि नै मोर्चाले आफ्ना कार्यकर्तामाथि लगाएको मुद्दाबारे सरकारलाई तथ्याङ्क दिने सहमति भएको छ ।
सहमति अनुसार वार्ताअवधिभर मोर्चाका कार्यकर्तालाई सरकारले सुरक्षा व्यवस्थ्ा गर्ने, मोर्चालाई राजनीतिक शक्तिका रुपमा व्यवहार गर्ने सहमति पनि भएको छ । सहमति अनुसार वार्ताकालमा मोर्चाले कानुनविपरीत काम गर्न नपाउने गरेमा कानुनविपरीत कारबाही गर्ने दुवै पक्षबीच सहमति भएको छ ।
मोर्चाका अध्यक्ष पवन भनिने प्रल्हाद गिरीले सहमति पालना गरिने र केही समयभित्रै सबै मुद्दाको तथ्याङ्क सरकारलाई बुझाउने प्रतिबद्धता जनाएका छन् । हरेक पटक सरकार परिवर्तन हुँदा तराईका कुनै न कुनै भूमिगत समूहसँग सफलवार्ता हुने गरेको छ ।
सरकार गठन गृह र शान्ति मन्त्री परिवर्तन हुनासाथ एक न एक समूहसँगको वार्ता सफल हुनुलाई रहस्यात्मक मानिएको छ ।
