योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरे मुलुकलाई विखण्डन गर्ने चेतावनी दिएको छ । परिषदले साउन २३ गते राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाँउदै यस्तो चेतावनी दिएको हो । आफूहरुको माग पुरा नभए अबको केही वर्षमा मध्यपूर्वको जस्तो नेपाललाई धर्मयुद्धमा फसाउने ज्ञापनपत्रमा उल्लेख छ ।
राज्यले दमन गरेर पिछड्याइएका समुदायलाई अधिकार सम्पन्न गराउन संघीयता, समावेशीता र आरक्षणको व्यवस्था गर्दा मुलुक विखण्डन हुन्छ भन्ने हावादारी तर्क गर्ने दलका नेता, पत्रकार, नागरिक समाज र बुद्धिजिवी भनाउँदाहरुले भने सिधै मुलुक विखण्डन गर्छु भन्नेहरुलाई उल्टै समर्थन गरेको देखिन्छ । ज्ञापनपत्रमा धर्मजस्तो अत्यन्त संवेदनशील विषयमा राजनीतिक दलले खेलवाड गर्दा मुलुक झनै द्वन्द्वमय हुन सक्ने उल्लेख छ । नेपाल अनादिकालदेखि नै देवभूमि तपोभूमि तथा शैवभूमिका रुपमा जगतभर प्रख्यात रहेको उनीहरुको जिकिर छ । यद्यपि तत्कालिन राजा महेन्द्रले हिन्दु अतिवादीको दवावमा २०१९ सालमा जवरजस्ती हिन्दु राष्ट्र बनाएका थिए ।
धर्म सम्प्रदाय निरपेक्ष हुनुपर्नेमा हिन्दु धर्म निरपेक्ष गरिनु सहिष्णुताको उर्वर भूमि, हिन्दु राष्ट्र नेपाललाई असहिष्णुता बनाउन नहुने उल्लेख गरिएको छ । धर्मको विषयमा जनमत सङ्ग्रहबाट निर्णय हुनुपर्ने माग राख्दै विसं २०६८ साउन १ गतेदेखि २०६९ असार मसान्तसम्म परिषद्ले छैटौँ चरणको देशभर धार्मिक कार्यक्रम, सभा, जुलुस र विविध कार्यक्रम गरिने जनाएको छ ।
