सभासदहरुलाई कुटनीतिक राहदानी रातो पासपोर्ट बेच्न उक्साएर सम्पत्ति कमाएको भन्दै विशेष अदालतले श्यामबाबु भण्डारीसँग रु १० लाख धरौटी मागेको छ । राहदानी दुरुपयोग गर्नेहरुको कान निमोठ्ने जिम्मेवारी पाएको अध्यागमन विभागमा कार्यरत भण्डारीकै मिलोमतोमा सभासदहरुले राहदानी दुरुपयोग गरेको ठहर सहित अदालतले यो आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले साउन २२ गते अभियुक्त भण्डारीसँग धरौटी लिन आदेश दिएको हो । अर्का अभियुक्त भुमिनन्द भण्डारीले श्यामबाबुको संलग्नता खुलासा गरेका थिए । सभासद गायत्री साह र विपि यादवको राहदानी काण्डमा उनीहरुले ठूलै रकम हात पारेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ ।
