नेता ज्यू विद्युत चोर्न पनि सिकाउनु हुन्छ ?

Read Time:8 Minute, 59 Second

नेपाल विद्युत प्राधिकरणको तथ्याँक अनुसार ठूला नेताको जिल्लामा बढी विद्युत चोरी हुने गरेको छ ।

 

सेन्छेलुङ लिम्बू

प्राधिकरणको तथ्यांकले नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको जिल्ला रौतहटमा सबैभन्दा बढी विद्युत् चोरी हुने गरेको देखाउँछ । त्यहाँ ७२.३ प्रतिशत विद्युत् चोरी हुने गरेको छ । परिमाणको हिसाबले छैंठौं धेरै चोरी हुने रौतहटमा ३ करोड ९४ लाख युनिट बिजुली सित्तैमा बालिन्छ ।

एनेकपा माओवादीको गढ मानिने चितवन विद्युत् चोरीको हिसाबले एघारौं ठूलो जिल्ला हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव रामबहादुर थापा बादल, प्रभावशाली नेता अमिक शेरचन लगायतको जिल्ला चितवनमा ३९ प्रतिशत विद्युत् चोरी हुने गरेको छ । तर त्यो विद्युत् प्रतिशतलाई युनिटमा बदल्ने होभने ४ करोड ९९ लाख युनिट बिजुली बिना पैसा बालिएको स्थिति छ ।

राष्ट्रपति डा. रामवरण यादवको जिल्ला धनुषा पनि धेरै विद्युत् चोरी हुने जिल्लामा दरिन्छ । त्यहाँ ४७ प्रतिशत विद्युत चोरी हुने गरेको प्राधिकरणको भनाई छ । बढी विद्युत् चोरी हुने हिसाबले धनुषा सातौं स्थानमा पर्छ । त्यसो त नेपाली कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र नीधिको जिल्ला पनि धनुषा नै हो ।

नेपाली कांग्रेसमा लामो समयसम्म अड्डा जमाई अहिले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष रहेका महन्थ ठाकूरको जिल्ला विद्युत् चोरीमा दोस्रो नम्बरमा पर्छ । त्यहाँ बालिएको ६५.५ प्रतिशत बिजुलीको पैसा विद्युत् प्राधिकरणले पाउँदैन । दुई महिना अघि मात्रै मधेश जनअधिकार फोरम नेपाल फोरेर फोरम गणतान्त्रिकका अध्यक्ष बनेका जयप्रकाश प्रसाद गुप्ताको जिल्ला सप्तरीमा ५५ प्रतिशत विद्युत् चोरी हुन्छ । जुन पाँचौं बढी विद्युत् चोरी हुने जिल्ला दरिएको छ । पूर्व उपसभामुख एवम् कांग्रेस कोषाध्यक्ष चित्रलेखा यादवको जिल्ला सिरहा विद्युत् चोरी हुने १२ औं ठूलो जिल्ला हो । त्यहाँ ३६.९ प्रतिशत विद्युत् सित्तैमा बालिन्छ ।

एमालेका उपाध्यक्ष बामदेव गौतमको जिल्ला बर्दिया विद्युत् चोरीको हिसाबले छैंठौं ठूलो जिल्ला हो । त्यहाँका जनताले ४७।६ प्रतिशत बिजुली सित्तैमा बालिरहेका छन् । यता एमालेका प्रभावशाली नेता केपी ओलीको जिल्ला झापामा ठूलै मात्रामा विद्युत् चोरी हुने गरेको छ । झापामा ३२.८ प्रतिशत बिजुली चोरीकै बालिन्छ । परिमाणमा जाने होभने झापामा ३ करोड ८७ लाख युनिट बिजुली निशुल्क बाँडिएझैं देखिन्छ ।

नेपाल मजदूर किसान पार्टीको क्षेत्रको रुपमा रहेको भक्तपूर विद्युत चोरीको हिसाबले १० औं ठूलो जिल्ला हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको जिल्ला भक्तपूरमा ४२ प्रतिशत विद्युत् चोरी हुने प्राधिकरणको तथ्यांकले देखाउँछ ।

ठूला नेताकै जिल्लामा ठूलो मात्रामा विद्युत् चोरी हुने गरेपछि ९ साउनमा घोषणा भएको विद्युत् चुहावट नियन्त्रण राष्ट्रिय अभियानको लक्ष्य भेटाउनु विद्युत् प्राधिकरणका लागि चुनौतिपूर्ण छ । अभियानका संयोजक एवम् प्राधिकरण साचालक समितिका सदस्य सुवास कमाचार्य राजनीतिक दल प्रशासन नागरिक समाजका अगुवा लगायत सबैको सहयोग रहे आगामी ६ महिनामा विद्युत् चुहावट २० प्रतिशतमा झर्ने ठोकुवा गर्छन् । उनले हरेक महिना डेढ प्रतिशतका दरले चुहावट कम गर्दै जाने बताए ।

प्राधिकरणका अनुसार तीन वर्ष अघि २८.६ प्रतिशतको हाराहारीमा रहेको विद्युत् चुहावट बढेर दुई वर्ष अघि २८.९१ प्रतिशत र अहिले त्यो २९ प्रतिशतको हाराहारीमा रहेको छ ।

अर्बौंको विद्युत् चोरी

प्राविधिक रुपमा हुने १५ प्रतिशत बाहेकको चुहावट चोरीको रुपमा हुने चुहावट हो । त्यस्तो चोरी रौतहटमा सबैभन्दा धेरै हुने गरेपनि परिमाणको हिसाबले भने रुपन्देहीमा सबैभन्दा धेरै विद्युत् चोरी हुन्छ । आर्थिक वर्ष २०६७\६८ मा रुपन्देहीमा मात्रै ५ करोड २७ लाख युनिट विद्युत् चोरी भएको छ ।

प्राधिकरणकाअनुसार आर्थिक वर्ष २०६७\६८ मा काठमाण्डौंमा ५ करोड ५ लाख युनिट, चितवनमा ४ करोड ९९ लाख, बारामा ४ करोड ३० लाख, पसा्रमा ४ करोड ९ लाख युनिट विद्युत् चोरीमार्फत् खपत भएको छ । यस्तै रौतहटमा ३ करोड ९४ लाख युनिट, झापामा ३ करोड ८७ लाख युनिट, धनुषामा ३ करोड ८४ लाख युनिट, ललितपूरमा ३ करोड ७२ लाख, युनिट मोरङमा ३ करोड ४७ लाख युनिटको रकम प्राधिकरणलाई प्राप्त गरेको छैन । ३ करोड युनिट भन्दा बढी विद्युत् चोरी हुने जिल्ला सर्लाही भक्तपूर नवलपरासी महोत्तरी सप्तरी लगायतका छन् ।

वर्षेनी नोक्सान व्यहोर्दैआएको विद्युत् प्राधिकरणका लागि गत आर्थिक वर्षमा भएको विद्युत् चोरीले अर्बौं रुपैंयाको घाटा लगाउने प्राधिकरणका वरिष्ठ इन्जिनियर बिमल गुरुङ बताउँछन् । गत आर्थिक वर्षको वार्षिक नोक्सान मात्र पनि ७ अर्ब रुपैंया भन्दा बढी हुने अनुमान छ । जस्ले कूल सिाचत नोक्सान २८ अर्ब रुपैंया नाघ्ने प्राधिकरणको भनाई छ ।

परिमाणमा  विद्युत् चोरी
जिल्ला                 युनिट
रुपन्देही                ५ करोड २७ लाख
काठमाण्डौं              ५ करोड ५ ला
चितवन                ४ करोड ९९ लाख
ब्रा                   ४ करोड ३० लाख
पसा्र                 ४ करोड ९ लाख
रौतहट                ३ करोड ९४ लाख
झापा                 ३ करोड ८७ लाख
धनुषा                ३ करोड ८४ लाख
ललितपूर              ३ करोड ७२ लाख
मोरङ                ३ करोड ४७ लाख
सर्लाही               ३ करोड ३७ लाख
भक्तपूर              ३ करोड ३० लाख
नवलपरासी            ३ करोड २४ लाख
महोत्तरी             ३ करोड १ लाख
सप्तरी             ३ करोड
स्रोतः नेपाल विद्युत् प्राधिकरण
यस्तो ठूलो संख्यामा विद्युत् चोरी हुने भएकैले प्राधिकरण चोरी नियन्त्रण गर्न अभियानमा उत्रिएको हो । सदस्य कर्माचार्य लक्ष्यअनुसार पहिलो ६ महिनामा अहिलेको चुहावट प्रतिशतलाई २० प्रतिशतमा झार्न सके २ अर्ब रुपैंया भन्दा बढी आम्दानी हुने दावी गर्छन् । यदि ९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गर्न सके प्राधिकरणको प्रणालीमा ६३ मेगावाट बिजुली थप हुनेछ जुन कुलेखानी पहिलो जलविद्युत् आयोजनाबाट उत्पादित बराबरको बिजुली हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %