देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन

Read Time:3 Minute, 23 Second

फाल्गुण १६ , २०७९
राज्यसत्ता संवाददाता

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरेको छ।

आगामी चैत ५ गते हुने निर्वाचनका लागि देशभरका त्रिवि आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्नका लागि निर्वाचन समिति गठन गरेको जानकारी दिएका छन् ।

निर्देशक अधिकारीले।प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको बताए।साे गठित समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। त्रिविका सबै आंगिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था छ।

त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकिएको छ।

निर्देशक अधिकारीले गठन गरिएको समिति र क्याम्पस प्रमुखलाई जिल्ला स्थिति निर्वाचन आयोगसँग स्ववियु निर्वाचनमा समन्वय गर्न अनुरोध गरिएको बताए।

सुरक्षा व्यवस्था मिलाउन पत्राचार

निर्देशक अधिकारीले स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचारसमेत गरेकाे जानकारी दिए।

आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ ।

यही फागुन १९ गते विद्यार्थी संघसंगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको कार्यतालिका प्रकाशन भएको छ ।

स्ववियु निर्वाचन कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन। २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %