
फाल्गुन १२, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तागठबन्धन तोडेको आराेप लगाएका छन् । प्रचण्डले कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउने निर्णय गरेर गठबन्धन तोडेको बताए ।
ज्ञवालीले भने ‘राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भएको छ’ । ज्ञवालीकाे भनाइ अनुसार ८ राजनीतिक दलका पछिल्लो निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको बताएका छन् ।
‘यो राजनीतिलाई अनन्त अस्थिरतातर्फ धकेल्ने निर्णय हो । जुन कोर्समा देशअघि बढ्न खोजेको थियो त्यसलाई जनताले नै राम्रो मानेका थिए । आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पनि देखा पर्ने थालेको थियो । मुलुकलाई फेरि अस्थिरता अन्यौल सत्ताको लुछाचुडी र भागबण्डामा लैजाने र विस्तारै लोकतान्त्रमाथिनै वितृष्णा बढाउन दिशातर्फ जाने निर्णय हो’ ज्ञवालीले भने, ‘यसले राजनीतिमा विश्वास, संकट, धोकाधडी र आफूले दिएका वचनहरुलाई क्षणक्षणमै फेर्ने विषय हाबी भएको छ भने देखाएको छ ।’
ज्ञवालीले बाह्य शक्तिहरुको चलखेल यो गठबन्धन निर्माण भएकाे बताएका छन् । ‘नेपालको आन्तरिक मामिलामा आँफै निर्णय गर्ने विषयलाई पनि कमजोर बनाएको छ,’ ज्ञवालीले बताए ।
