
२०७९, १० फागुन
स्थानीय तहका उम्मेदवारहरूको जरिवाना रकम मिनाहा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता लोकेन्द्रबहादुर ओलीले रिट दर्ता गरेका छन् ।
अधिवक्ता लोकेन्द्रबहादुर ओलीले सोमबार सो निर्णयविरुद्ध सर्वोच्चमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ रिट दर्ता गरेका हुन् । साे रिटको सुनुवाइ फागुन १२ गते शुक्रबारका लागि तोकिएको छ ।
निर्वाचन आयाेगले वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने एक लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपियाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।
तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ५ गते जरिवाना माफी मिनाहाको निर्णय गरेकि थिईन ।






