
फाल्गुन १०, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन भएको छ । याे मुल्यले उपभोक्तालाई भार पर्ने छ । दुधकाे मूल्य बढ्नुकाे कारण चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकालेकाे छ । दुग्ध विमास बोर्डले मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गेकाे छ ।
‘किसान, उद्योगी, बजारसहित अध्ययन गरेर अध्ययन समितिले प्रतिवेदन बनायो । प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएका छौं,’ बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवले भने, ‘मूल्य बढाउने प्रस्ताव मन्त्री र सचिवज्यूले अध्ययन गर्दै हुनुहुन्छ । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि कार्यान्वयनमा जान्छ ।’
बोर्डले सबै पक्षमा अध्ययन गरेर देधकाे मूल्य बढाउने प्रस्ताव गरेको दाबी गरेकाे झ भने । उपभोक्ताकर्मीले भने एकलौटी निर्णय स्वीकार्य नहुने बताएका छन् । दुधकाे मूल्य बृद्धिले किसानलाई घाटा तर केवल उद्योगीलाई फाइदा हुने कार्य गर्न नहुने बताए । यस्ताे कार्यले उपभोक्ताको ढाड मात्रै सेकिने बताए । ‘दूधको गुणस्तर सुधारमा चासो छैन । पर्याप्त अध्ययनबिना किसानको नाममा बढाइने मूल्यले बजारलाई धेरै प्रभाव पार्छ । दूधको मूल्यसँगै दुग्धजन्य अन्य वस्तुको मूल्य समेत बढ्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘किसानलाई बचाउने बहानामा मूल्य बढाउने खेल भयो । बोर्डले मूल्य बढाउन प्रस्ताव गरेपनि मन्त्रिपरिषदले स्वीकार गर्नुहुँदैन ।’
किसानकै हक र हितका लागि हाे भने दानामा सहुलियत, उन्नत जातका बाच्छा, बिउ, सहुलियत कर्जामा जोड दिनुपर्ने अध्यक्ष माधव तिमिल्सिनाले बताए । त्यस्तै, बजारमा पर्ने प्रभावलाई अध्ययन नगरी बढाइने मूल्यको विरोध हुने तिमिल्सिनाले बताए । यसअघि ०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रुपमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरेको थियो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाकाे भनाइ अनुसार सरकारले उद्योगीको दबाबमा मूल्य बढाउन खोजेको बताएका छन् । उनले भने ‘उपभोक्ताको क्रयशक्ति हेरेर वैज्ञानिक रुपमा अध्ययन गर्ने बताइए पनि पर्याप्त अध्ययन भएको छैन, बजारलाई प्रत्यक्ष असर गर्ने मूल्यवृद्धि मान्य छैन,’ उनले भने, ‘मूल्य बढाउनुको वैज्ञानिक आधार छैन ।’
राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई/दुई वर्षमा मात्रै बजार मूल्य समायोजन गर्न मिल्छ । तर, ऐन विपरित मूल्य बढाउन प्रस्ताव गरिएको छ । लागत बढेकै कारण सरकारले २०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको थियो । कच्चा दूधको मूल्य बढाएलगत्तै दुग्ध विकास संस्थान (डीडीसी)ले फ्याटको आधारमा स्टान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, चिया–दूधमा १० रुपैयाँ, गाईको दूधमा १२ र फुलक्रिम दूधमा १४ रुपैयाँसम्म बढाएको थियो । निजी डेरीहरुले पनि सोही अनुसार मूल्य बढाएका थिए ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालकाे भनाइ अनुसार मूल्य निर्धारण समितिले प्रतिलिटर १० रुपैयाँ बढाउने प्रस्तावमा भद्र असहमति रहेको बताए । दाहालकाे भनाइ अनुसार बजारभाउलाई ध्यानमा राखि वृद्धि र लागत अनुसार प्रतिलिटर १४ रुपैयाँ बढाउनु पर्ने उनले तर्क गरे । ‘केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसनले प्रतिलिटर १० रुपैयाँमा असहमति जनाएका छौं । हाम्रो भनाइ प्रतिलिटर १४ रुपैयाँ नै बढाउनु पर्छ भन्ने छ,’ अध्यक्ष राजकुमार दाहालले भने, ‘यद्यपि, प्रतिलिटर १० रुपैयाँ बढाउने प्रस्ताव मन्त्रालयमा पुगिसकेको छ ।’ दाहालकाे जिकिर अनुसार बढेको मूल्य ६९ प्रतिशत किसानले पाउने छ भने ३१ प्रतिशत उद्योगीले पाउने छ ।
