
४ फागुन २०७९, बिहिबार
काठमाडौं, फागुन ४ गते । संवैधानिक आयोगका अध्यक्षहरुले सामुहिक रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंदरबारमा भेट गरेका थिए । भेटकाे मुख्य उद्देश्य आयोगहरुमा आइपरेका समस्या र चुनौती समाधानमा प्रधानमन्त्रीसँग छलफल गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।
संवैधानिक आयोगहरु सामाजिक विभेदहरुको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले प्रधानमन्त्री प्रचण्डले बताए । प्रचण्डले आयाेगहरूलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेकाे बताए । प्रधानमन्त्री दाहालले आयोगहरुको गठन धेरै ठूलो संघर्ष र बहस पश्चात भएको चर्चा गर्नुहुँदै आवश्यक साधन स्रोत र पूर्वाधारसहित व्यवस्थित गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘समुदायलाई अधिकार सम्पन्न गराउने यी आयोगहरुको उद्देश्य हो । त्यसका लागि अख्तियार, साधनस्रोत र तिनको सामाजिक प्रतिष्ठाको दृष्टिकोणले स्थापित गर्न राज्यले आवश्यक कदम चाल्नु पर्छ ।’ आयोगका अध्यक्षहरुले मानव अधिकारसम्बन्धी आठ वटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीहरुको लागि सेवा, शर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रम अनुसार नभएकोले निर्दिष्ट मर्यादाक्रम बमोजिम व्यवस्था गर्नुपर्नेमा प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डसँ संवैधानिक आयोगको मर्यादा र स्थायित्वको विचारगरी कर्मचारी पदस्थापन तथा सरुवा गरी पठाउँदा र आयोगबाट कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगको समेत सहमति लिनुपर्ने सुझाव उनिहरूले राखेका थिए । प्रधानमन्त्री प्रचण्डसँगकाे भेटघाट कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेना, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीको सहभागिता रहेको थियो ।
