
आदिवासी जनजाति मध्येमा पनि इमान्दार जातीको रुपमा परिचित थारु समुदायका एक निर्दोष व्यक्तिलाई बोक्सो भनेर हत्या गरिएको छ ।
बाँके महादेवपुरी गाविस-५ नयाँगाउँ निवासी ५० वर्षीय सुन्दरलाल थारुलाई उच्च जातीका भनाउँदाहरुले कुटपिट गरेर मारेका हुन ।
गाउँमा बिरामीलाई झारफुक गर्न धामी बसेका बेला थारुलाई बोक्सो भएको आरोपमा साउन ५ गते बिहान पिटीपिटी मारेका हुन । थारुलाई मारेपछि उपचार गर्न भनेर मेडिकल कलेज नेपालगन्जमा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरीनायब उपरीक्षक उदय तामाङले प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको बताएका छन् । तामाङ्गका अनुसार शव पोस्टमार्टमका लागि भेरी अाचल अस्पताल नेपालगन्जमा राखिएको छ ।
देशका विभिन्न भागमा शासक जातीका मानिसहरुले बोक्सो बोक्सीको बहानामा महिला आदिवासी जनजाति दलित मधेशीलाई निर्ममता पूर्वक हत्या गर्दा पनि एकाध वाहेक कानुनको दायरामै आउँदैनन् । ठूला जाती र सम्पन्न परिवारकालाई बोक्सो वा बोक्सीको आरोप लाग्ने गरेको प्रमाण अहिलेसम्म कतै फेला परेको छैन ।
मरेको गाइ काटेको निहुमा जनजातिलाई जेलमा कोच्ने माओवादी नेतृत्वको गृहप्रशासनले सुन्दरलालको हत्यारालाई भने यो समाचार तयार पर्दासम्म पक्राउ गरेको छैन ।
