
माघ २८, २०७९
राज्यसत्ता संवाददाता
सत्ता गठबन्धन दलभित्र खटपट सुरू भईसकेकाे नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताएका छन् । महतले कांग्रेलेनै ढिलो चाँडो मुलुकको नेतृत्वमा आउने र कांग्रेसले मात्रै समाधानको दिशा दिन सक्ने दाबी व्यक्त गरेका छन् ।
प्रवक्ता महतका अनुसार काङ्ग्रेस निर्वाचनबाट पहिलाे दल बनेपनि अनेकन चलखेल गरेर सत्ताबाहिर पुर्याइएको दाबी गरेका छन् । साे कुरा उनले सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दा बताएका हुन् ।
महतले भने ‘यो निर्वाचनमा कांग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर कांग्रेसलाई सत्ताभन्दा बाहिर पुर्याइएको छ,’ उनले भने, ‘तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ । छोटो समयमै यस्तो खटपट हुनु राम्रो होइन । यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको छ । यो अन्योललाई हामी चाँडै निकास दिने प्रयासमा छौं ।’
प्रवक्ता महतले काङ्ग्रेसले शान्ति र संविधानको नेतृत्व गरेको स्मरण गराउँदै व विकास र समृद्धिको यात्रा पनि काङग्रेसकै नेतृत्व पनि कांग्रेसबाट मात्रै सम्भव हुने बताए । महतले भने ‘हामी ढिलो चाँडो फेरि सत्तामा आउनेछौं, विपक्षमा हुँदा पनि हामी सत्तामा भएको दललाई विकास र जनताको सेवामा केन्द्रित हुन खबरदारी गरिरहनेछौं,’ ।
नुवाकोटको आर्थिक वृद्धि र विकासको बारेमा महतले सम्भावना रहेकाे चर्चा गरे । ‘हाम्रो जिल्ला रसुवागढी नाकाको नजिक छ । सो नाका जोड्ने सडक निर्माणमात्रै भए पनि हामी व्यापारिक क्षेत्रको रुपमा विकास गर्न सक्छौं,’ उनले भने ।
नेपाली कांग्रेसका नेता तथा संघीय सांसद् अर्जुननरसिंह केसीले सातौं नुवाकोट महोत्सव उद्घाटन गरेका थिए । साताैं नुवाकोट महाेत्सव विदुर नगरपालिका-५, पिपलटारमा एक समारोहबीच गरेका थिए । सातौं नुवाकोट महोत्सव शुक्रबारबाट सुरु भएको हो ।
यस महोत्सवमा विभिन्न भेषभुषा, झाँकी, नाचगान भजन, प्रदर्शन गरिएको थियो । मगरको घाटुनाच, किम्ताङको घोडानाच, तामाङको झाँक्रीनाच, नेवारको धिमे बाजा, लाखे नाच, कुमालको भेषभुषा, बाघभैरव समूहको भजन प्रस्तुत गरिएको थियो । माघ २७ गतेबाट सुरू भएको नुवाकोट महोत्सव आउँदाे फागुन १० गतेसम्म चल्ने आयाेजक समितिले जनाएको छ ।
