भूमिसुधार अधिकारीसहित ५ जनाविरुद्ध पर्सामा भ्रष्टाचार मुद्दा दायर

Read Time:3 Minute, 7 Second

माघ २०, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — पर्सा जिल्ला भूमिसुधार तथा मालपोत प्रमुख कमोद तिवारीसहित ५ जनाविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पर्सा जिल्लाको बेल्वास्थित युवा स्पोर्ट्स क्लबका नाममा रहेको १ कठ्ठा ५ धुर जग्गा गलत लिखत तयार पारी व्यक्तिका नाममा कायम गरेको छ । यस्ताे कसुर गरेकाेले अख्तियारले तिवारीसहित बदनियतपूर्ण रुपमा कागजात तयार पार्ने नायब सुब्बा शम्भु साह रौनियार, खरिदारद्वय शिवप्रसाद साह तेली र रिन्ता कुमारी तथा जग्गा हत्याउने शेषसफी अहमदविरुद्ध कैद र जरिवानाको मागदावीसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

क्लवका नाममा रहेको जग्गा गैरकानुनी रुपमा स्रेस्ता कायम गरेर अहमदका नाममा पुर्‍याएको कसूरमा कर्मचारी र जग्गा हात पार्ने व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको बताए अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ र दफा १२ अनुसार सजाय मागदावी लिएर अदालतमा मुद्दा दायर गरेकाे प्रवक्ता भण्डारीका जनाए ।

ऐनको दफा ९ मा ‘कुनै लिखत तयार गर्ने कर्तव्य भएको कुनै राष्ट्रसेवकले नेपाल सरकार वा सरकारी निकाय वा सार्वजनिक संस्था वा कुनै व्यक्तिलाई हानि पुर्‍याउने बदनियतले त्यस्तो कुनै लिखत तयार गरेमा निजलाई कसूरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने’ लेखिएको छ ।

त्यस्तै दफा १२ मा ‘कुनै राष्ट्रसेवकले सरकारी वा सार्वजनिक संस्थाको कागजात लुकाएमा वा कुनै तरिकाले नोक्सान पुर्‍याएमा वा नष्ट गरेमा निजलाई कसूरको मात्रा अनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ । त्यसरी लुकाएको, नोक्सान पुर्‍याएको वा नष्ट गरेको कारणबाट कुनै किसिमको हानी नोक्सानी भएको रहेछ भने सो समेत असुल उपर गरिनेछ’ भनि उल्लेख छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %