असार ३०
झाडापखलाको महामारी फैलिएको पूर्वी पाल्पाको गल्धामा आज थप एकको मृत्यु भएको छ । गल्धा वडा नं.—३ की ५५ बर्षीया मानकुमारी विकको आज (बिहीबार) विहान मृत्यु भएको हो । झाडापखलाको महामारीले पाल्पामा मर्नेको संख्या ४ पुगेको छ । झाडापखलाकै कारण जलवियोजन (डिहाईड्रेसन) भएर दुबै किड्नी फेल भएपछि सिकिस्त अवस्थामा भर्ना गरिएकी विकको उपचारको क्रममा तानसेन मिसन अस्पतालमा मृत्यु भएको हो । असार २६ गते भर्ना गरिएकी उनको उपचार पछि झाडापखला रोकिए पनि किड्नीले काम नगरेर मृत्यु भएको उपचारमा संलग्न डाक्टर निरञ्जन शर्माले बताए ।
यसै बिच दुई साता अघि देखि फैलिएको झाडापखाला अहिले सम्म नियन्त्रमा आएको छैन । जिल्ला स्वास्थ्य कार्यालय पाल्पा बाट गएको उपचार टोली फर्किए पनि उपचार पछि निको भएका हरु फेरी बिरामी पर्न थालेको गल्धा ८ का रेशम रुचालले बताएकी छिन् ।
१५० भन्दा बढिले स्थानिय मेडिकल,हेल्थ पोष्ट तथा उपचार टोली बाट उपचार पाएपनि उनीहरुमा फेरी झाडा बान्ताको समस्या दोहोरिएको हो । अहिले बिरामीहरुलाई स्थानिय स्वास्थ्य चौकी प्रमुखको भरमा छोडिएको भन्दै स्थानिय हरुले गुनासो गरेका छन् । दुसित पानीका कारण गल्धामा झाडापखाला फैलिएको बताईएको छ ।
देब पचभैया पाल्पा
