मधेशी केन्द्रित नेताहरुले आफ्ना माग पुरा नभएसम्म आर्थिक वर्ष २०६८\०६९को आयव्याय विवरण प्रस्तुत गर्न नदिने भएको छ । असार ३० गते निर्धारित मितिमा बजेट ल्याउन नदिएपछि बाहिरिने क्रममा लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले घुमाउरो भाषामा आफूहरुलाई सत्ता नदिएसम्म बजेट प्रस्तुत गर्न नदिने बताए । आफूहरु छलफलका लागि तयार रहेको तर सत्ता सम्बन्धी मागबाट तल नओर्लने गच्छदारको भनाई थियो ।
मधेश केन्द्रित राजनीति गर्दै आएका गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमलोपा नेपालका अध्यक्ष महेन्द्र राय यादव, सदभावना अध्यक्ष राजेन्द्र महतोले सत्ता नपाएसम्म बजेट प्रस्तुत हुन नदिने अडान लिँदै आएको छ । उपेन्द्र यादवले नेतृत्व गरेको फोरम भने सरकारमा सहभागी छ । मधेशकेन्द्रित दल नेपाल सदभावना पार्टी सरिता गिरी र नेपाली जनता दल आदिले भने यस्तो माग राखेका छैनन् ।
सरकारले ३० असार दिनको चार बजे बजेट प्रस्तुत गर्नका लागि २४ घण्टा अगाडि नै सबै भन्सार लगायतका कारोबार बन्द गरेको थियो । तर मधेशकेन्द्रित नेताहरुको कुसर्ी मोहका कारण राज्यलाई करौर्डौ रुपियाँ घाटा भएको अर्थविदहरु बताउँछन् ।
बजेट प्रस्तुत गर्नका लागि सरकारले असार ३१ गते दिनको १ बजे पुन बैठक बोलाएको छ । अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट प्रस्तुत गर्न नसकेकोमा क्षमा मागेका छन् । उनले विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकार सम्मेलन गरेर बजेट प्रस्तुत गर्न दिन समेत आग्रह गरे । उनी बजेट भएको वि्रफकेस बोकेरै संविधानसभा भवन पुगेका थिए ।
