बझाङमा ५.९ म्यानिच्युडको भूकम्पले दर्जनौं घर भत्कायो

Read Time:2 Minute, 37 Second

माघ १०, २०७९

बाजुरालाई केन्द्र बनाएको भूकम्पको धक्काले मंगलबार दिउँसो बझाङमा दर्जनौं घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पमा परी एक जना घाइते भएका छन् । प्रायः जिल्लाका पालिकाका भौतिक संरचनामा क्षति भएको जनाएको छ ।

दिउँसो २:४३ बजे ५.९ म्यानिच्युडको भूकम्प बाजुराको हिमाली गाउँपालिका बिच्छ्याँको मौलालाई केन्द्रबिन्दु बनाएर गएको थियो । बाजुरामा  भूकम्पमा परि एक जनाको मृत्यु भएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ५२ वर्षीय हरिकृण्ण जोशी भूकम्प पश्चात सुरक्षित स्थानतर्फ भाग्न खोज्दा घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी लगिएको छ ।

भूकम्पको धक्काले सदरमुकाम चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन, जिल्ला अस्पताल, केही होटल, सुर्मा गाउँपालिकामा रहेको प्रहरी चौकीको भवन र निजी घरमा पनि क्षति भएको छ । प्रहरीका अनुसार भकम्पको धक्काको कारणले  जयपृथ्वी नगरपालिका, बुङगल नगरपालिका, सुर्मा, मष्टा, तलकोट, खप्तडछान्ना, थलारा र साइपाल गाउँपालिकास्थित थुप्रै निजी घर र विद्यालय, स्वास्थ्य चौकी जस्ता सार्वजनिक संरचनाहरुमा क्षति पुगेको जनाएको छ ।

बाजुरामा हिमपात र वर्षा भईरहेको छ । यसैको कारणले मंगलबार बिहानदेखि कतिपय ठाउँमा टेलिफोन सेवा अवरुद्ध भएकाले क्षतिको यकिन विवरण आउन सकेको छैन् ।

भूकम्पले थुप्रै घरहरु चर्किएको स्थानीयहरूले बताएका छन् । गाउँमा थुप्रै घर चर्किएकाले आरामले भित्र बस्न पनि त्रास फैलिएको स्थानीयहरूको बताएका छन् । गत कात्तिकको तेस्रो साता डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । साथै उक्त भूकम्पपछि सयौं परकम्पहरु गएका थिए ।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %