
विदेश जानु पहिलो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वरिपरी वा काठमाडौंको कुनै क्षेत्रमा रुपियाँ दिएर डलर लिँदै हुनुहुन्छ भने विचार गर्नुहोला । काठमाडौंमा खाली कागज दिएर डलर लुट्ने गिरोह निकै सकि्रय छ । प्रचलित दररेट भन्दा सस्तोमा डलर किन्ने प्रस्ताव आयो भने झनै विचार गर्नुपर्ने हुन्छ । ठगहरुले नक्कली डलर देखाएर समेत झुक्याउने गरेको पाइन्छ ।
यस्तै ठगको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बाहिर डलर देखाई भित्र कागज राखेर ठगी गर्ने गिरोहमध्येको मुख्य नाइकेलाई महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक राधिका खड्काका अनुसार बाह्रबिसे-४ सिन्धुपाल्चोकका दीपक लामालाई ५० को दुईथान र एकको २२८ थान डलरसहित पक्राउ गरिएका जानकारी दिइन ।
एकसातादेखि प्रहरीले डलर सटही गर्ने नक्कली क्रेता बनेर थिमीबाट पिछा गर्दै जाँदा पशुपतिबाट अमेरिकन डलर डलरका रुपमा प्रयोग गरिने कागज बेहोस बनाउन प्रयोग गरिने औषधिसहित एकजनालाई पक्राउ गरेको छ । गिरोहमध्येका दुईजना भने फरार छन् । एकसाताअघि मात्र थिमीबाटै यसैगरी डलर सटहीको नाममा दुईलाख रुपैयाँ ठगीमा परेका कर्णबहादुर विक र उनका साथी प्रल्हाद लामिछाने विश्वकर्माले प्राप्त गरेको मोबाइल नम्बर ९८४३०९१२२८ र पीडितको सहयोगमा प्रहरीले डलर सटही गर्ने गिरोहको मुख्य नाइकेलाई पक्राउ गर्न सफल भएको हो ।
प्रहरी नायब उपरीक्षक खड्काले एक वर्षमा डलर सटहीको नाममा ठगी गरेको घटना तीनवटा भएको बताउँदै थोरै रकमले धेरै डलर पाइने लोभमा पर्नेहरु ठगिएकाले यस्ता गिरोहसँग सचेत रहन आग्रह गरिन ।
