
काठमाडाैं
२०७९ पौष २१
नेपालले विश्व बैंक, एडिबी, जाइका,अन्तर्राष्ट्रिय मुद्रा काेष एक्जिम बैंक आदि बैंकसँग ऋण लिएको छ । नेपालको सबैभन्दा धेरै ऋण लिएको विश्व बैंक समूहअन्तर्गत इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडिए)सँग हो । आइडिएसँग नेपालले पाँच खर्ब २६ अर्ब एक करोड १८ लाखबराबर ऋण लिएको छ ।
दाेस्राे ठूलाे ऋण लिएको एसियाली विकास बैंक (एडिबी)सँग हो । एडिबीसँग नेपालले तीन खर्ब २३ अर्ब ६४ करोड ९० लाख ऋण लिएको छ । नेपालले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग ४८ अर्ब ४१ करोड ३४ लाख र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग ४३ अर्ब ८९ करोड ५३ लाखबराबर ऋण लिएको छ ।
यसरिनै एक्जिम बैंक लाइन अफ क्रेडिट–इन्डियासँग ३७ अर्ब ५६ करोड ६३ लाख, एक्जिम बैंक अफ चाइनासँग ३३ अर्ब ५१ करोड २८ लाख, इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्टसँग १० अर्ब २५ करोड ४४ लाख र ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टसँग आठ अर्ब ३८ करोड ३३ लाखबराबर ऋण नेपालले लिएको छ ।
नेपालले युरोपियन इन्भेस्टमेन्ट बैंकसँग पाँच अर्ब ६१ करोड ५५ लाख, एक्जिम बैंक कोरियासँग पाँच अर्ब ६२ करोड ८५ लाख, साउदी कोषसँग तीन अर्ब तीन करोड, नर्डिक डेभलपमेन्ट फन्डसँग एक अर्ब ८१ करोड ८५ लाख र कुवेतसँग एक अर्ब ५० करोड ५७ लाख ऋण लिएको छ ।
माथि उल्लेखित संस्थासँग मात्रै नभई नेपालले बेल्जियमसँग ५७ करोड ३६ लाख, युरोपियन इकोनोमिक काउन्सिलसँग १९ करोड ५३ लाख, नाजिक्सिक बैंक फ्रान्ससँग १३ करोड ९५ लाख र एसियन पूर्वाधार लगानी बैंकसँग तीन करोड ७० लाखबराबर ऋण लिएको छ ।
