विदेशबाट ल्याएको मोबाइल त्रिभुवन विमानस्थलमा जफत

Read Time:3 Minute, 8 Second

पुस १८, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — विदेशबाट फर्किने नेपालीलाई माेबाईल ल्याउन गरिएको कडाइलाई गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयन नगर्न निर्देशन दिएका थिए । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने निर्णय गरेको थियाे ।

प्रधानमन्त्रीकाे निर्देशन विमानस्थल भन्सारमा कार्यान्वयन भएकाे छैन । सोमबार अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गर्‍यो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आफूहरुलाई केही निर्देशन नआएको भन्दै अमेरिका टर्किस एयरबाट सोमबार काठमाडौं आएका झापाका दुधलाल (डीएल) नेम्वाङले ल्याएको आइफोनको भन्सार लाग्ने भन्दै कर्मचारीले जफत गरिदिएकाे छ ।

‘मसँग एउटा आफूले चलाइरहने पुरानो मोबाइल छँदै थियो, अर्को एउटा नयाँ मोबाइल पनि ल्याएको थिएँ’ उनले भने ‘विमानस्थलमा अवतरणपछि चेकिङका क्रममा मैले ल्याएको नयाँ मोबाइल भन्सारका कर्मचारीले जफत गर्नुभयो ।’
ती कर्मचारीहरुलाई प्रधानमन्त्री दाहालको शुक्रबारको निर्देशनबारे आफूले जानकारी गराए पनि नमानेको उनले बताए । उनले भने ‘प्रधानमन्त्रीले नै दुईटा मोबाइलसम्म ल्याउनेलाई जफत नगर्नु भन्ने सुनेर ल्याएको थिएँ, तर भन्सारका कर्मचारीले हामीले नियम मान्नुपर्छ, भनेर उल्टै मेरो मोबाइल दिन नसक्ने भन्दै जफत गरी चिट काटिदिनुभयो ।’ तोकिएको भन्सार शुल्क तिर्नुस्, अनि तपाईको मोबाइल लैजानुस् भनेर भन्सारका कर्मचारीले कागजको टुक्रा थमाएको उनले गुनासो गरे ।

‘मजस्ता विदेशबाट फर्कने धेरैले विमानस्थलमा यस्तै सास्ती भोग्नुपरेको होला । मैले आफूले नै प्रयोग गर्नका लागि थप एउटा मोबाइल मात्रै ल्याएको थिएँ, यहाँभन्दा केही सस्तो हुने भएकाले त्यो फोन किनेर ल्याएको हो’ नेम्वाङले भने ‘तर भन्सार नै तिर्नुपरेपछि मोबाइलको मूल्य त बजारमैजस्तो हुने भयो । मजस्तै विदेशबाट आउँदा मोबाइल ल्याउनेले अब प्रधानमन्त्रीको कुरालाई कसरी विश्वास गर्नु ?’ उनले निराशा पाेखे ।

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %