सभासदद्वय गायत्री साह र विश्वनाथप्रसाद यादवको कुटनीतिक राहदानी गरेको अभियोगमा पृथ्वीबहादुर छन्त्यालसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा म्याग्दी अर्थुङे-९ का २९ वर्षीय मनोजकुमार कार्की, सोही जिल्ला पुलाचौर-३ का ४६ वर्षीय गोपाल बानियाँ, लमजुङ सुन्दरबजार-९ का ४० वर्षीय आशिष जिसी भन्ने दिलबहादुर घर्ती र बाग्लुङ खुङखानी-२ का ४३ वर्षीय पृथ्वी छन्त्याल रहेका छन् ।
अभियुक्तमध्ये पृथ्वी छन्त्याल सभासद विश्वनाथप्रसाद यादवको कुटनीतिक राहदानीमा आफ्नो फोटो टाँसेर अष्ट्रेलिया जाँदा अवुधाबीबाट फिर्ता भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि त्यहीँबाट फरार भएका थिए । त्यसैगरी अर्का अभियुक्त मनोजकुमार कार्की र दिलबहादुर घर्तीले राहदानीमा फोटो परिवर्तन गर्ने, सभासद्को राहदानी परराष्ट्रबाट बुझिलिने परराष्ट्र मन्त्रालय र दूतावासमा आवश्यक काम गर्ने रकम बुझाउने र व्यक्ति फिर्ता आएपछि विमानस्थलबाट भगाउने काम गरेको प्रहरीको दाबी छ ।
अभियुक्त गोपाल बानियाँले दुवै राहदानीमा फोटो टाँस गरी उड्ने व्यक्ति खोज्ने दुवै व्यक्तिसँग रकम बुझ्ने आफ्नो कमिसन राखी भागबन्डा गर्ने मुख्य योजनाकारलाई भेटाइदिने काम गरेको प्रहरीले बताएको छ । सभासद साहको राहदानी प्रयोगकर्ता महिलालाई भने प्रहरीले अझै पक्राउ गरेको छैन ।
