राज्यसत्ता संवाददाता–पूर्ण बहादुर राना
काठमाडौँ — श्रावण १८, २०७८- विश्वव्यापी रुपमा फैलिएको कोरोना कतिखेर हट्ने कुनै सिमानिर्धारण छैन । नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदि बढिरहेको छ । संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ कक्षाको परीक्षा भौतिक रुपमा गर्ने कि भर्चुअल रुपमा गर्ने सो बारे छलफल अघि बढाएको छ ।
१२ कक्षाका परीक्षार्थीलाई कक्षामा भौतिक रुपमा उपस्थित भएर परीक्षा दिनुपर्ने शिक्षा मन्त्रालयल निर्णय गरिसकेको छ । विद्यार्थीले परीक्षा जुन विद्यालयमा पढेको हो सोहि विद्यालयबाट परीक्षा गराउन राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ देखि भदौ ९ सम्म परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । कोरोनाको दोश्रो लहरले गर्दा जेठ २६ मा तय भएको परीक्षा स्थगित गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गए भौतिक रुपमा परीक्षा सञ्चालन गर्न नहुने पक्षमा उभिएको हो । ‘आन्तरिक मूल्यांकनबाट परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग समन्वय गर्छौं,’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने,‘सीसीएमसीसँग पनि यस विषयमा छलफल गर्छौं ।’ विद्यार्थीको भौतिक उपस्थित गराई परीक्षा लिंदा कोरोनाको संक्रमण झ फैलन सक्ने मन्त्रालयले अड्कल गरेको छ ।
कक्षा १२ को परीक्षा भौतिक परीक्षा नगर्ने हो भने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्नेछ ।
राज्यमन्त्री श्रेष्ठले सोमबारको पत्रकार सम्मेलनमा कक्षा १२ सहित सबै तहको परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयसँग छलफल गर्ने बताएका छन् । पत्रकार सम्मेलन पश्चात श्रेष्ठले सीसीएमसीका प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्मासँग पनि छलफल गरेका थिए । ‘परीक्षा रोक्ने भन्ने होइन । भौतिक रुपमा गर्ने कि घरमै बसेर भर्चुअल्ली गर्ने भन्नेमा छलफल भइरहेको छ । भोलि पनि छलफल छ,’ श्रेष्ठले भने ।
संसद्को शिक्षा र स्वास्थ्य समितिले स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्सको व्यवस्था सहित सुरक्षित तरिकारले परीक्षा परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गरि परीक्षा सञ्चालन गर्न समितिले सुझाव दिएको छ । शिक्षा मन्त्रालयले संसदको शिक्षा र स्वास्थ्य समितिले दिएको सुझावलाई कार्यान्वयन गर्न स्वास्थ्यलाई पत्राचार गरिसकेको छ ।
प्रकाशित : श्रावण १८, २०७८ ८ः००
