पोखरा, २८ जेठ
प्राध्यापक डाक्टर विरेन्द्र सिंह गुरुङले तमु विद्यार्थीहरुले उच्च शिक्षामा अध्ययन छाड्ने संख्या बढी भएको बताएकाछन् । गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपालले आज पोखरामा आयोजना गरेको उच्च शिक्षामा गुरुङ विद्यार्थीको अवस्था विषयेक अध्ययन प्रतिवेदन प्रस्तुत गदै प्राडा गुरुङले एसएलसी राम्रो प्रतिशत प्राप्त गरेका अधिकांश तमु विद्यार्थीहरु उच्च शिक्षामा असफल हुदै अध्ययन छाड्ने संख्या वढी भएको बताए । गुरुङले चारवर्ष लगाएर पोखराका बाह्र क्याम्पसमा अध्ययनरत चारसय तेह्र गुरुङ विद्यार्थीको गरिएको अध्ययनबाट उक्त निष्कर्ष निकालेको बताए ।
प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसमा अध्ययन गर्ने तमु विद्यार्थीहरु मध्ये ५४ प्रतिशत र पोखरा विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा ३५ प्रतिशत तमु विद्यार्थीहरुले अध्ययन छाड्ने उल्लेख छ । प्रतिवेदनमा गैर गुरुङ विद्यार्थीहरुमा त्रिभुवन विश्वविद्यालयमा ३५ र पोखरा विश्वविद्यालयमा २९ प्रतिशतले अध्ययन छाडेको उल्लेख छ ।
मञ्च अध्यक्ष इञ्जिनियर लेखबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा श्रीमान गुरुङ, पम्फा गुरुङ, सुन्दर गुरुङ, टेकबहादुर गुरुङ, शेरबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, क्याप्टेन भुवन सिंह तमु, देविराज तमु, क्याप्टेन मनबहादुर तमु, अधिवक्ता कृष्णाबहादुर गुरुङ लगायतले एसएलसी पछि गुरुङ विद्यार्थीले लाहुरे संस्कार र अभिभावकको उचित नियन्त्रण अभावका कारण अध्ययन छाडेको बताएका थिए ।
हुम तमु
