पुनःसंरचना सम्बन्धी विवाद सल्टाउने जिम्मा संविधानसभालाई

 

काठमाडौँ, २७ जेठ

संवैधानिक समितिअन्तर्गत गठित विवाद उपसमितिको आजको बैठकमा राज्यको पुनःसंरचना समितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

समितिले प्रस्तुत गरेको सो प्रतिवेदनमा करिब ७८ वटा विवादित विषय रहेका छन् । ती विवादित विषयलाई एकीकृत गर्न एवम् एक अर्काे बुँदामा रहेका विषयलाई व्यवस्थित गरी खाका तयार गर्न बैठकले संविधानसभा सचिवालयलाई जिम्मा दिएको छ ।

उपसमितिको आजको बैठकमा ती विवादित विषयलाई सुल्झाउन उपसमितिद्वारा कार्यदल गठन गर्ने भनिए तापनि उपसमितिका संयोजक पुष्पकमल दाहाल अनुपस्थित भएका कारण कार्यदल गठन हुन नसकेको वताइएको छ । “राज्यको पुनःसंरचनाको विषय गम्भीर रहेकाले यसबारे राजनीतिक नेतृत्व तहमा बाहिर छलफल गर्न आवश्यक छ, बाहिर मोटामोटी सहमति भएपछि उपसमितिको बैठकमा छलफल गर्ने सहमति भयो ” उनले भने । विवादित विषयलाई राजनीतिक नेतृत्व तहमा विस्तृत छलफल गरी आगामी उपसमितिको बैठकमा समाधान प्रस्तुत गर्ने आजको बैठकमा सहमति भएको जानकारी उपसमितिको सदस्य एवम् नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए  ।